Skip to main content

यसरी भएको थियो, कैलालीको सुधारकेन्द्रभीत्र सुनील शाहीकाे निर्मम हत्या

Submitted by editor on
उनलाई ४÷५ जनाले कोठामै बेस्सरी कुटे । उनको छाती, घाँटी र पिठ्यु सहित गोप्यअंगहरुमा पनि घाउ देखिएका छन । उनको शवमा देखिएका घाउ भएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाईरल बनेका छन । सार्वजनिक भएका तस्बिरहरु हेर्दा उनको मलद्वारमा पनि गहिरो चोट देखिन्छ ।
शिवराज भट्ट
सुनील शाही निर्मम हत्या

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षिय सुनील शाहीलाई मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्युभएको खुलेको छ । 

शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राती भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भीत्र लगेर, सुधारगृहमा रहेका ४÷५ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको छ ।

यस्तो थियो घटना (पक्राउ परेकाहरुले प्रहरीलाई दिएको प्रारम्भीक बयानका आधारमा)
बैशाख २५ गते बेलुकीको समग थियो । सुधारगृहमा खाना खाने समय भईरहेको थियो । सुधारकेन्द्रमा राखिएका १४ जना युवाहरु र सुधारकेन्द्रका कर्मचारीहरु खाना खाने तयारीमा थिए । सुनील शाहीलाई सुधारकेन्द्रको खाना मन परिरहेको थिएन । 

उनले आफु सुधारकेन्द्रमा नबस्ने र घर जाने भन्दै भाग्न खोजे । सुधारकेन्द्रको गेट बन्द गरिएकाले सुनील सुधारकेन्द्रको  पर्खाल (बाउन्ड्री वाल) तिर लागे । सुनील भाग्न खोजिरहेको कुरा सुधारकेन्द्रका कर्मचारी र त्यहाँ सुधारका लागि राखिएका युवाहरुले थाहा पाए । केही कर्मचारी र युवाहरु गएर उनलाई पर्खालबाट तानेर परिषरभीत्र ल्याउन खोजे । 

सुनीललाई तान्नेक्रममा पर्खालमा रहेको फलामको रडले उनको अण्डकोषमा गहिरो चोट लाग्यो । उनी कराउदै थिए, तर समात्न गएकाहरुले उनको अण्डकोषको चोटप्रति खासै वास्ता गरेनन । पर्खालबाट तानेर उनलाई सुधारकेन्द्रको कोठामा पुगाईयो । 

उनलाई ४÷५ जनाले कोठामै बेस्सरी कुटे । उनको छाती, घाँटी र पिठ्यु सहित गोप्यअंगहरुमा पनि घाउ देखिएका छन । उनको शवमा देखिएका घाउ भएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाईरल बनेका छन । सार्वजनिक भएका तस्बिरहरु हेर्दा उनको मलद्वारमा पनि गहिरो चोट देखिन्छ ।

‘सबैजना जना लागुऔषधका प्रयोगकर्ता थिए । उनीहरु आफैमा ‘एग्रेसीव’ (रिसालु) हुन्छन । कसले कता हाने, कसले कता, उनी मध्यरातमा गम्भिर घाईते अवस्थामा पुगेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका एकजना प्रहरी अधिकृत भन्छन । त्यसपछि सुनीललाई उनले सुत्ने कोठामा छोडियो । सहन नसक्ने पिडामा छटपटि रहेका सुनीलले रातीको २ बजे प्राण छोडे ।  

यसरी बन्यो छतबाट लडेको नक्कली योजना
सुनीलको राती २ बजेमृत्यु भईसक्छ । त्यहाँ रहेका कर्मचारीहरुले सञ्चालक मध्येका एकजना, बल खत्रीलाई राती २ बजे फोन गर्छन । बल खत्री त्यहाँका सबै युवकहरु र कर्मचारीलाई छतबाट हाम फालेको बयान दिने भन्दै अस्पताल लैजान अह्राउछन । रातीको २ बजे ज्यान गुमाईसकेका सुनीललाई मरिसकेपछि, छतबाट हामफालेको भन्दै घोडाघोडी अस्पताल पुगाईन्छ । अस्पताल पुगेका बल खत्री सबैलाई छतबाट खसेको भनेर बयान गर्न सिकाउछन । 

‘सुरुमा हामीलाई छतबाट खसेको भनियो, मैले घटनास्थल हेरे, तर छतबाट खसेको भनिएको स्थानमा खुट्टाले मिचेर माटो यताउती पारिएको थियो । त्यो नक्कली योजना थियो । कुनै कोणबाट पनि खसेको भनिएको स्थानमा विश्वास गर्ने ठाउँ थिएन । न खसेको भनिएको स्थानमा रगत थियो, अनी अलग अलग बयानका क्रममा उनको हत्या भएको कुरा खुलेको हो’ ईप्रका सुखडका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालले भने । ‘घटनाको गहन रुपमा अनुसन्धान भईरहेको छ ।’

राती नै अस्पताल पुगाएको भए बाच्न सक्थे सुनील
प्रहरी भन्छ, ‘लागुपदार्थको सुधार गृहमा कोही पनि परिपक्व मान्छे देखिएन । कुटपिट भयो भने छुटाउने मान्छे भएन । कुटपिट भईहालेको थियो भने पनि घाईते अवस्थामा अस्पताल पुगाईएन । सुनीललाई घाईते पारेर मर्नका लागि उनको कोठामा छोडेको जस्तो देखिन्छ ।’ प्रहरीले घटनामा सञ्चालक पक्षको चरम लापरवाही देखिएको निस्कर्ष निकालेको छ । ‘सञ्चालकहरुमा परिपक्वता देखिएन, होम गुरुङ नामका ब्यक्ति सुधारकेन्द्रका अध्यक्ष रहेछन, तर उनले सुधारकेन्द्रको खासै वास्ता नगरेको पाईयो, ब्यवस्थापन र सञ्चालक पक्षको चरम लापरवाही देखिन्छ’ कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर विष्ट भन्छन ।

पोष्टमार्टम रिपोर्टको पर्खाई
प्रहरी प्रारम्भीक अनुसन्धानका क्रममा सुनीलको कुटपिट गरि हत्या गरेको निष्कर्षमा पुगेको छ । तर कुटपिट भएको प्रमाणित गर्ने निकाय भने अस्पताल वा पोष्टमार्टम रिपोर्ट हो । सुनीलको पोष्टमार्टम रिपोर्ट आएको छैन । आईतबारसम्म पोष्टमार्टम रिपोर्ट आउने र त्यसका आधारमा थप कारवाही अगाडी बढाउने मुडमा प्रहरी छ ।

दुईजना सञ्चालक सहित १७ जना हिरासतमा
सुनीलका आफन्तले दिएको किटानीका आधारमा प्रहरीले सञ्चालक रोसन ऐर र बल खत्री, अध्यक्ष होम तामाङ सहितका १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ । सञ्चालक ऐर शुक्रबार मात्रै पक्राउ परेका हुन । उनीहरु सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।