Skip to main content

यसरी गर्थे कैलालीका बुद्धीराम र पदम तस्करलाई प्रहरीको सुराकी

Submitted by editor on
उनीहरु भारतको बनगवा, सुडा लगायतका स्थानबाट मोटरसाईकलमा सामान तस्करी गर्नेहरुले आफुहरु त्यहाँबाट हिडेको खबर गर्ने वित्तिकै प्रहरी बस्ने सम्भावित स्थानमा गएर त्यसको सूचना तस्करलाई दिने गर्थे ।
शिवराज भट्ट
कैलालीका बुद्धीराम र पदम यसरी गर्थे तस्करलाई प्रहरीको सुराकी

धनगढी : कैलालीमा प्रहरीको सुराक दिएर तस्करी गराउन मदत गर्ने दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शनिबार र आईतबार गरी दुईजनालाई पक्राउ गरेको हो । शनिबार धनगढी–७ बस्ने बुद्दीराम चौधरी र आईतबार धनगढी–९ तारातालका ३२ वर्षीय पदम पार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शनिबार पक्राउ परेका चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटी सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने उनकै सूचनाका आधारमा पार्कीलाई आईबार अपरान्ह पक्राउ गरिएको कैलालीका एसपी पदम बहादुर विष्टले बताए । 

कसरी गर्थे सुराकी ?
शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीलाई जुगेडा नजिकबाट मोटरसाईकलमा सामान तस्करी भईरहेको सूचना आयो । भारतबाट नेपाली नम्बरको मोटरसाईकलमा भन्सार छलेर सामान आईरहेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदम बहादुर विष्टले सादा पोषाकका प्रहरी पठाए । 

तर सूराकीले दिएको सूराकका आधारमा उक्त मोटरसाईकल फेला परेन । तस्कर समात्न गएको प्रहरीले निगरानी गर्दै जाँदा खेतमा एउटा वेवारिसे स्कुटर भेटायो । से ४ प ५८६१ नम्बरको त्यो स्कुटर कसको हो भनेर पत्ता लगाउदा खेतमा लुकेर बसेका बुद्धीराम चौधरी भागेपछि प्रहरीले उनलाई समात्यो । त्यसपछि गरिएको सोधपुछका क्रममा चौधरीले आफु तस्करहरुको सुराकी रहेको बयान दिएका छन । 

बुद्धीराम र उनका साथीहरुको काम भनेकै सीमा क्षेत्र आसपासमा भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुराक तस्करलाई दिने हो । भारतको बनगवा, सुडा लगायतका स्थानबाट मोटरसाईकलमा सामान तस्करी गर्नेहरुले आफुहरु त्यहाँबाट हिडेको खबर गर्ने वित्तिकै यी सुराकीहरु प्रहरी बस्ने सम्भावित स्थानमा गएर त्यसको सूचना तस्करलाई दिने गर्छन । 

कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर विष्ट भन्छन, ‘एक पटक प्रहरीको सुराक दिएको ५ सय देखि १२ सम्म रेट रहेछ ।’ उनले बढी सामान भएका तस्करबाट १२ समय सम्म पनि एक पटकमा लिने गरेको पाईएको बताए । बुद्धीरामले आफुले विगत ४÷५ वर्ष देखि प्रहरीको सुराक तस्करलाई दिने गरेको बयान दिएका छन । 

बुद्धीरामको सूचनाका आधारमा आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले अर्का सूराकी पदम पार्कीलाई पनि पक्राउ गरेको हो । प्रहरी उपरिक्षक विष्ट भन्छन, ‘तस्करहरुको नामलिस्ट प्रहरीकोसँग, तर खोज्न जादा उनीहरु भारत गएको सूचना प्राप्त भएको छ ।’ दुबै जना सूराकी पक्राउ परेपछि नेपाल तर्फको सीमा आसपासका तस्कर भारत भागेका छन ।

एसपी विष्टले कैलालीको कमाण्ड सम्हालेपछि भारतबाट हुने चोरीनिकासीमा कडाई गरेका छन । दुबै जनाले जुगेडा देखि त्रिनगर आसपासको खुला सीमानाको फाईदा उठाउदै तस्करहरुलाई प्रहरी बाटोमा भए नभएको सूचना दिदै आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीले उनीहरुको टेलिफोनको कल डिटेल निकालेर उनीहरुको सम्पर्कका आधारमा तस्करी गर्ने र सूराकी समुहको पहिचान गर्ने तयारी गरेको छ ।