Skip to main content

मुख्यमन्त्री सोडारी जेठ ३ गते विश्वासको मत लिने तयारीमा, अन्तिममा विश्वासको मत दिने मुडमा एमाले

Submitted by editor on
सोडारी वैशाख ६ गते एमाले १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता)पक्षका २, आफ्ना ४ र स्वतन्त्र सांसद तारा जोशी गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
शिवराज भट्ट
दीर्घ बहादुर सोडारी

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले जेठको ३ गते विश्वासको मत लिने भएका छन । उनले जेठ ३ गते विश्वासको मत लिन संसद बोलाई दिन सभामुखलाई पत्रचार गरेका छन । एमालेको अडान पछि सोडारीको विश्वासको मत दिने यो तेस्रो तयारी हो । 

यसअघि बैशाख २१ गतेका लागि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भन्दै संसद बोलाईएको थियो । सत्ता गठबन्धनको एक घटक रहेको एमाले हतार नगर्न भनेपछि सोडारीले २१ र २२ गते गरी दिन विश्वासको मत लिन सकेका थिएनन ।

मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत नपाउने देखेपछि २२ गते साँझ ५ः३० बजे प्रदेश सभा बैठक आह्वान गर्न लगाएका थिए । त्यो दिन पनि एमालेले आफ्नो पुरानै अडान दोहोराएपछि संसद बैठक अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि भन्दै स्थगित गरिएको थियो । 

बैशाखको ६गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री सोडारीले ३० दिन अथवा जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधान रहेको छ ।

विश्वासको मतको लागि मुख्यमन्त्री सोडारीले केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल र परामर्श बढाइरहेका छन् । केन्द्रमा भएकै छलफलको आधारमा जेठ ३ गते विश्वासको मत लिने तयारी गरिएको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले जानकारी दिए ।

‘शीर्ष नेताहरूसँगको छलफलपछि प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीज्यूलाई जेठ ३ गते विश्वासको मत लिन तयारी गर्नुभएको हो । सोही अनुसार तयारी भइरहेको हो’ उनले भने ।

मुख्यमन्त्री सोडारीले ३ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमालेले भने अझै विश्वासको मतका विषयमा ठोस सहमति नभएको जनाएको छ । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रबाट कुनै निर्देशन नआएको हुँदा ३ गते नै विश्वासको मत दिने विषयमा कुनै तयारी नभएको बताए ।

तर एमालेका एकजना उच्च नेताले भने सोडारीलाई विश्वासको मत नदिनुको विकल्प नरहेको बताए । ती नेताले भने, ‘या त गठबन्धनबाट समाजवादीलाई हटाउनुप¥यो, हैन भने सोडारीलाई विश्वासको मत दिनुको विकल्प छैन ।’ 

तर प्रदेशस्तरका नेताहरुले भने सोडारीले आफुहरुसँग विश्वासको मत लिने लगायतका कुरामा समन्वय भने नरेको आरोप लगाउदै आएका छन । सोडारी मुख्यमन्त्री नियुक्त हुँदा पनि एमालेले अन्तिम समयमा मात्रै समर्थन गरेको थियो । समर्थन गरेपनि तत्काल सरकारमा सहभागी नहुने पनि एमालेले निर्णय गरेको छ ।

सत्तारुढ घटक माओवादी केन्द्रले भने मुख्यमन्त्री सोडारीको चाँडै विश्वासको मत लिई मन्त्री मण्डल विस्तार गर्नुपर्नेमा जोड दिँदै आएको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कल रावलले बजेट अधिवेशन आह्वान गर्ने र प्रिबजेट छलफलको बेला भएको भन्दै विश्वासको मत र मन्त्रीमण्डल विस्तारको कार्य चाँडै टुंग्याउनुपर्ने बताए ।

सोडारी वैशाख ६ गते एमाले १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता)पक्षका २, आफ्ना ४ र स्वतन्त्र सांसद तारा जोशी गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बझाङबाट पनि एमाले जितेकाले अब सत्ता गठबन्धनसँग २८ प्रदेशसभा सदस्य हुनेछन ।