Skip to main content

वाणिज्यमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबीच भेटवार्ता

Submitted by editor on
ईबिगुल संवाददाता
फेरानबीच भेटवार्ता

काठमाडौं :  वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक मिरियाम फेरानबीच भेटवार्ता भएको छ । काठमाडौंको सोल्टी होटलमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रशंसा गरे ।

‘नेपाल र युरोपियन युनियनबीच सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ । युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ,’ उनले भने । 

मन्त्री भण्डारीले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयमा नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताए। उनले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी महामारी एवं जलवायु परिवर्तनजस्ता विभिन्न संकटलाई सम्बोधन गर्न बहुक्षेत्रीय सहायताको आवश्यकता रहेको बताए ।

‘नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा सन् २०२६ सम्ममा स्तरोन्नती हुने जमर्को गरिरहेको छ । यस ऐतिहासिक रुपान्तरणलाई दिगो बनाउन नेपाल सरकारलाई विभिन्न विकास साझेदारका साथै युरोपियन युनियनबाट प्राविधिक र आर्थिक सहयोग आवश्यकता रहेको छ,’ उनले भने । नेपाल र युरोपियन युनियनले सहयोग तथा पारस्परिक सम्मानमा आधारित सम्बन्ध र सहकार्य गर्दै आएको उनको भनाइ थियो ।

त्यस्तै उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरोपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरिन्। ‘हामी नेपाली वस्तुको युरोपमा व्यापार विस्तार होस् भन्ने चाहन्छौं। त्यसका लागि हामीबाट गर्नुपर्ने पहलमा कमी हुने छैन,’ उनले भनिन् ।