Skip to main content

बैतडीमा निःशुल्क आँखा शिविर, दुई हजारभन्दा बढी लाभान्वित

Submitted by editor on
ईबिगुल संवाददाता
आँखा शिविर

बैतडीः बैतडीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् । 

जिल्लाको शिवनाथ गाउँपालिकाको सुल्लेखान र सुर्नया गाउँपालिका तथा जिल्ला अस्पतालमा आयोजना गरिएको शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका हुन् । शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट ६ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए ।

शिविरमा एक सय ६ जनाको आँखाको मोतियाबिन्दु र चार जनाको आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले शिविरमा सेवा लिएको बताए ।

त्यस्तै सुर्नया गाउँपालिकाको शंकरपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा आठ सय पाँच जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । जिल्ला अस्पताल बैतडीमा वैशाख २७ र २८ गते गरी दुई दिन सञ्चालन भएको शिविरमा पाँच सय ६५ जनाले सेवा लिएका छन् ।