Skip to main content

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ

Submitted by editor on
ईबिगुल संवाददाता
सन्दीप लामिछाने

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले  जिल्ला अदालत काठमाडौंको  आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैदका साथै लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो । त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए । 

बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो । बहसपछि न्यायाधीशहरूले सीसीटीभी फुटेज पनि हेरेका थिए । न्यायाधीशहरूले सन्दीप र गौशाला–२६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज हेरेका थिए ।

मंगलबार न्यायाधीशद्वय भट्ट र  ढकालको संयुक्त इजलासमा बहस नसकिएपछि  सुनुवाइका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बहसका लागि दुवै पक्षका वकिललाई सर्वोच्चले डेढ घण्टाको समय दिएको थियो ।

यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी तोकिएको थियो। उक्त दिन ’हेर्न नमिल्ने’मा परेपछि मंगलबारका लागि पेशी तोकिएको थियो ।

अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्ममिति स्पष्ट खुल्ने काजगात झिकाउन आदेश दिएको थियो । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने काजगात झिकाउन आदेश दिएको हो । यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको  थियो ।

पीडितको उमेर १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको थियो । नाबालिग बलात्कार गरेको आरोपमा गौशाला–२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन् ।