Skip to main content

औषधी ब्यवसायीहरुद्वारा डाक्टर निराजन शर्मा विरुद्ध प्रशासनमा उजुरी

Submitted by editor on
ईबिगुल संवाददाता
औषधी ब्यवसायीहरुद्वारा डाक्टर निराजन शर्मा विरुद्ध प्रशासनमा उजुरी

धनगढी : सेती अञ्चल अस्पतालका डाक्टर निराजन दत्त शर्मा पौडेलले धम्काएको भन्दै औषधी ब्यवसायी संघले जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको छ । 

नेपाल औषधी व्यवसायी संघ कैलालीले डाक्टर शर्माले धम्काएको भन्दै प्रशासनमा निवेदन दिएको हो । निराजन शर्माले औषधी व्यवसायी मेगेन्द्र बोहरालाई धम्की दिएको औषधी ब्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै बताएका छन ।

नेपाल औषधी व्यवसायी संघ कैलालीका अध्यक्ष प्रेमराज बुढा क्षेत्रीले आफुले भेटन जाँदा समेत धम्काएको बताए । धनगढीमा रहेको डाक्टर शर्माको गरिमा पोलिक्लिनिक, साई फार्मेसी र गरिमा डेन्टलका लागि आवश्यक औषधीको आपूर्ति उत्पादक कम्पनीबाट सोझै नगरेको भन्दै धम्काउने गरेको आरोप छ ।

पत्रकार सम्मेलनमा बोहराले भने, ‘डाक्टर शर्माले कम्पनीबाट सोझै औषधी लिनुभएन । हाम्रो च्यानल हुन्छ । हामीले आपूर्ति गर्ने हो । कम्पनी, आयातकर्ता, सुपर वितरक र वितरक हुँदै औषधी हामी कहाँ आउने हो । उहाँले कम्पनीबाट बिलिङ्ग गर्नु खोज्नु भो, हामीसँग खरिद गर्नु भएन ।’

जिल्ला प्रशासन कार्यालय कैलालीमा बुधवार दर्ता भएको निवेदनमा थोक औषधी व्यवसायीहरूसँग कम्पनीबाट सिधै मेरो क्लिनिकमा औषधी आउन तिमीहरूले किन रोक लगायौ भनि तथानाम गाली गर्ने गरेको, हकार्ने गरेको, तिमीहरूलाई जे पनि गर्न सक्छु, तिम्रा घर परिवारका सदस्यलाई अपहरण गर्न सक्छु, तिमीहरूलाई गुन्डा लगाएर जे पनि गर्न सक्नु भनेर तीन महिनादेखि धम्काउदै मानसिक यातना दिएको उल्लेख गरिएको छ ।

तर सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर निराजन शर्मा पौडेलले धनगढीमा औषधी व्यवसायीहरूको सिन्डिकेट रहेको बताए । उनले भने, ‘उहाँहरूको सिन्डिकेट छ । मलाई कारोबार नगर्नु भन्नु भएको छ । नेपालगन्जबाट कारोबार गर्न मैले पाउन्न रे ! धनगढीबाट मात्र मैले कारोबार गर्नुपर्ने भयो रे !’ पौडेलले गत पुस २६ गतेबाट धनगढीका औषधी व्यवसायीले हैरान बनाएको बताए ।