Skip to main content

कैलालीको गोदावरी नगरपालिकामा सरकारी गाडी हुँदाहुदै भाडाको गाडीमा १२ लाख स्वाहा

Submitted by editor on
ईबिगुल संवाददाता
सवारीसाधन भाडाको नाममा झण्डै १२ लाख रुपैयाँ खर्च

धनगढी : कैलालीको गोदावरीमा कार्यालय र नगरप्रमुख सवारीसाधन भाडाको नाममा झण्डै १२ लाख रुपैयाँ खर्च गरिएको छ । सो रकम कार्यालय र नगरप्रमुख बिरेन्द्र भट्टको सवारीसाधन भाडा प्रयोजनमा खर्च गरिएको हो ।

२०६९ फागुनदेखि २०८० जेठ १७ गतेसम्म मात्र कार्यालय र नगरप्रमुखको प्रयोजनका लागि सवारी भाडामा ११ लाख ८१ हजार २५० रुपैयाँ राज्यकोषको रकम खर्च गरिएको छ । यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (११) विपरीत गरिएको खर्च रकम हो । 

सरकारी रकम खर्च गर्दा वा कुनै आर्थिक कारोबार गर्दा कार्यालय प्रमुखले सरकारी रकमको हिनामिना हानीनोक्सानी वा वापरबाही हुन नपाउने गरेर सरकारी सम्पत्ति नगद, जिन्सी सुरक्षित राख्न उचित प्रबन्ध मिलाउनुपर्ने सो नियमावलीमा उल्लेख छ । तर गोदावरी नगरपालिकाले भने कार्यालय प्रयोजन र नगरप्रमुखको प्रयोजनको नाममा ११ लाख ८१ हजार २५० रुपैयाँ खर्च गरेको छ ।

कार्यालयको सामान्य कामकाजमा जाँदा पनि गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको पाइएको छ । एक जना व्यक्ति मात्र सामान्य काममा जानुपर्ने अवस्थामा समेत गाडी नै भाडामा लिएर राज्यकोषको रकम दुरुपयोग गर्ने काम हुँदै आएको छ । कार्यालयबाट हुने प्रायोजसो कार्यक्रम, तालिम, गोष्ठी लगायतमा सहभागि हुन पनि गाडी भाडामा लिने काम भइरहेको छ । 

कार्यालय प्रयोजनका लागि भन्दै एक महिनाको ८८ हजार २ सयका दरले गाडी भाडा तिरेर एक वर्षमा १० लाख ५८ हजार चार सय रुपैयाँ खर्च गरिएको छ । २०८० जेठ १७ गते नगरप्रमुखको प्रयोजनको लागि भनेर दैनिक ६५ सयका दरले सवारी भाडा तिर्ने गरी २९ हजार २५० रुपैयाँ खर्च गरिएको छ ।

२०६९ माघ १० गते नगरप्रमुखको प्रयोजनकै लागि भनेर २९ हजार २५० रुपैयाँ खर्च गरिएको छ । सोही वर्षको फागुन १९ गते सोही शिर्षकमा २३ हजार चार सय रुपैयाँ खर्च गरिएको छ । २०८० बैशाख १९ गते नगरप्रमुखकै प्रयोजन शिर्षकमा थप ४० हजार ९५० रुपैयाँ खर्च गरिएको छ ।