Skip to main content

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विषयविज्ञ हुनुपर्ने मेलानको माग

Submitted by editor on
ईबिगुल संवाददाता
 (मेलान)

धनगढी : मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएको प्रति आपत्ति जनाउँदै मेलानले ध्यानाकर्षण पत्र बुझाएको हो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेश स्वीकृत दरबन्दी विपरित समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा जिम्मेवारी दिएको छ ।

त्यस निर्णय प्रति मेलानको गम्भीर ध्यानाकर्षण सहित उक्त ध्यानाकर्षण पत्र बुझाइएको मेलान सुदूरपश्चिम प्रदेशका सचिव माधव प्रसाद जोशीले बताए । 
‘कोरोना महामारीका बखत सोको निदान, नियन्त्रण तथा रोकथामका लागि निभाएको भूमिका होस या रोग निदानमा आधुनिक चिकित्सा पद्दतिको मेरुदण्डको रूपमा रहेको क्षेत्र प्रयोगशाला हो । यसमा कुशल प्रशासकका रूपमा विषय विज्ञ हुनु आवश्यक छ भन्ने कुराको जानकारी गराउछौं’ मेलानका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारी द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ । 

सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल)ले आफू मन्त्रालयमा नयाँ भएको र यहाँ भएका समस्याहरू बारे ब्रिफिङ लिएर संस्थागत सुधारका निम्ति चाडै समस्याहरू समाधान गर्ने गरी अगाडी बढ्ने बताएका थिए ।