Skip to main content

विद्यार्थी ‘ड्रप आउट’ हुन नदिन उपमहानगरले स्थापना गरेको कोषमा रकम थपिदै

Submitted by editor on
ईबिगुल संवाददाता
पमहानगरपालिका

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।

विपन्न बालबालिकाहरुको नियमित पठनपाठनका साथै शैक्षिक गुणस्तर सुधार गर्न स्थापना गरिएको सो कोषमा विभिन्न संघसंस्था तथा ब्यक्तिले आर्थिक सहयोग गर्दै आएको उपमहानगरपालिकाले जनाएको छ । उक्त कोषमा बुधबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सो रकम सहयोग गरेको हो ।

यसअघि एनएमबी बैंक धनगढी शाखाले पनि ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्यसामग्री खरिदका लागि सो बैंकले ५२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकले नगरप्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १० जना बालबालिकाका लागि पोसाक खरिद गर्न सो रुपैयाँ सहयोग गरेको उपमहानगरले जनाएको छ । धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन थालेको छ ।

ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ‘ड्रप आउट’ हुन नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो । सो कोषमा उपलब्ध रकमले विपन्न परिवारका बालबालिकाकाहरुलाई विद्यालय पोसाक तथा पाठ्य सामग्री उपलब्ध गराई ‘ड्रप आउट’ रोक्न सहयोग पुग्ने उपमहानगरनगरपालिकाले जनाएको छ ।