Skip to main content

भारतमा अब १ लाख सम्मको भुक्तानी क्युआरबाट गर्न सकिने

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
क्यूआर

काठमाण्डौं : नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले क्यूआर लगायत विद्युतीय माध्यमबाट विदेशी मुद्रामा हुने अन्तरदेशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पेमेन्टको भुक्तानी प्राप्ति र भुक्तानी जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

भुक्तानी प्रणाली विभागले उक्त व्यवस्था नगर्दै नेपालमा भुक्तानी प्रणाली सञ्चालकहरूले भुक्तानी प्राप्त गर्न सुरु गरेका थिए । भुक्तानी प्रणाली विभागले भुक्तानी जारी गर्न सक्ने र विदेशी विनिमय व्यवस्थापन विभागले भारतमा क्यूआर र विद्युतीय माध्यमबाट नेपालीले गर्ने कारोबारको सीमा तोकेको छ । यससँगै अब नेपालीले पनि भारतमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने छन् ।

भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी हुने गरी समेत उपलब्ध गराउने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

‘भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्यूआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत भारत र भुटानमा भुक्तानी हुने गरी समेत उपलब्ध गराउन सकिनेछ,’ राष्ट्र बैंकको विदेशी विनियम कारोबार गर्ने संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशिका संशोधनमा उल्लेख छ ।

कारोबारको सीमा कति ?
यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पमेन्ट स्विचको माध्यमबाट प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तो भुक्तानी अहिले डेबिट, क्रेडिट र प्रिपेड कार्ड लगायतका इलेक्ट्रोनिक कार्डमा मात्रै रहेकोमा अब क्यूआर कोड र अन्य विद्युतीय कारोबारमा समेत पाइने भएको हो ।

हाल कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्दा गरिने भुक्तानीको हकमा एकै पटक वा पटक–पटक गरी मासिक भारतीय रुपैयाँ १ लाखसम्म मात्र भुक्तानी गर्न सकिनेछ ।

अब क्यूआर र विद्युतीय भुक्तानी समेत सोही सीमा लागु हुने छ । कार्डबाट हुने भुक्तानी जस्तै क्यूआर र विद्युतीय माध्यमबाट पनि होटल, हस्पिटल (हस्पिटल र रिसर्च सेन्टर लगायत समेत) र औषधि पसलमा गरिने भुक्तानीको हकमा उक्त सीमा लागु हुने छैन ।