Skip to main content

धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै

Submitted by editor on
विद्यालयमा बिरुवा रोपेर संरक्षण गर्न सजिलो हुने र फल्न थालेपछि बालबालिकाहरूलाई नै खान दिने उद्देश्यले फलफूलका बिरुवा रोप्ने योजना बानाइएको नगर प्रमुख हमालले बताए ।
ईबिगुल संवाददाता
बिरुवा रोप्ने अभियान

धनगढी : धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ । उपमहानगरले ‘विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यो वर्ष  ५१ सामुदायिक विद्यालयमा बिरुवा रोप्न सुरू गरेको हो ।

मंगलवारबाट बिरुवा रोप्न थालिएको हो । मंगलवार १६ सामुदायिक विद्यालयमा एक हजार ५२५  बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।
उपमहानगरले शिक्षा महाशाखाका प्राविधिक सहायक केशव खत्रीलाई सामुदायिक विद्यालयमा बिरुवा रोप्ने कार्यक्रमको जिम्मेवारी दिईएको छ । जसअनुसार धनगढीका ६८ सामुदायिक विद्यालय मध्ये पर्खाल भएका ५१ विद्यालयमा कति बिरुवा रोप्न सकिन्छ भन्ने लगत निकालेर विद्यालयहरूलाई फलफूलको बिरुवा वितरण गरिन लागेको हो ।

उपमहानगरपालिकाले  विद्यालयमा आँप, अम्बा र लिचीका बिरुवा वितरण गरेको छ । विद्यालयमा बिरुवा रोपेर संरक्षण गर्न सजिलो हुने र फल्न थालेपछि बालबालिकाहरूलाई नै खान दिने उद्देश्यले फलफूलका बिरुवा रोप्ने योजना बानाइएको नगर प्रमुख हमालले बताए । 

‘पर्यावरणको संरक्षण र बालबालिकाले फल खान सकून्, रुखमा चढेर रमाउन सकून् भनेर फलफूलको बिरुवा रोप्न थालिएको हो’ उनले भने ।  ‘विद्यालयले फलफूल बिक्री गरेर आम्दानी गरोस् भनेर रोपिन लागेको होइन । विद्यार्थी र पर्यावरणका लागि फलफूलको बिरुवा रोप्न थालिएको हो ।’

विद्यार्थीहरूले विद्यालयमा पढ्दै मौसमअनुसार पाक्ने फलफूल टिपेर खान पाउन भनेर हरेक विद्यालयमा जग्गाको क्षेत्रफलका आधारमा आँप र अम्बाको बिरुवा वितरण गरिने कार्यक्रम संयोजक केशव खत्रीले बताए ।

बिरुवा हुर्काउन विद्यार्थीलाई जिम्मेवारी दिइने
विद्यालयमा रोपेका बिरुवा हुर्काउन विद्यार्थीहरूलाई जिम्मेवारी दिने भएको छ । रोपिएका बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र संरक्षण गर्ने दायित्व इको क्लबका विद्यार्थीको जिम्मा लगाएर हरेक बिरुवाको संरक्षण गरिने पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए । 

धनगढी–१६ बेहडाबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज शर्माले विद्यालयमा ६५ बिरुवा आँप र १५ बिरुवा अम्बाको रोपिएको बताए । उनले बिरुवाले फल दिन थालेपछि बालबालिकाले नै दिवा खाजाको रुपमा फलफूल खान पाउने व्यवस्था मिलाइने बताए ।