Skip to main content

‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न मौसमविद्को टोली कञ्चनपुरमा

Submitted by editor on
ईबिगुल संवाददाता
विभागको टोली

महेन्द्रनगर : कञ्चनपुरमा असार २३ र २४ गते भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्न जल तथा मौसम विज्ञान विभागको टोली कञ्चनपुर आएको छ । वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि कञ्चनपुर आएको हो । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले विभागको विज्ञसहितको टोली कञ्चनपुर  प्रस्थान गरेको जानकारी दिए । महानिर्देशक कर्माचार्यका अनुसार टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भएनभएको जाँच गर्नेछ । साथै स्थानीयसँग सो दिनको वर्षाको अवस्थाबारे पनि कुराकानी गर्नेछ ।

कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुर केन्द्रमा असार २३ र २४ गतेको दर्के झरीले नेपालमा हालसम्म भएको वर्षाको सबै रेकर्ड तोडेको थियो । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा चौबीस घण्टाको अवधिमा ६२४ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । यो नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै वर्षाको रेकर्ड हो ।

दोधारामा यसअघि वर्षा मापन केन्द्र थिएन । दोधारामा २०८० फागुन १२ गतेमात्र स्वचालित वर्षामापन केन्द्र स्थापना गरिएको थियो । अघिल्ला वर्ष त्यहाँ कति वर्षा हुन्थ्यो भन्ने थाहा छैन । त्यसैले अहिलेकै वर्षालाई मौसमविद्हरुले ‘रेकर्ड ब्रेकिङ’ मानेका हुन् ।

असार २३–२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेसनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो । हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा मापन भएको थियो ।

विभागका मौसमविदहरुले प्रारम्भिक विश्लेषणबाट कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ (आरी घोप्टे वर्षा) जस्तो देखिएको बताएका छन् । यद्यपि विभागले ‘क्लाउड ब्रस्ट’ भएको भनिसकेको छैन ।

कहिलेकाहीँ उपकरण बिग्रिएमा तथ्यांक गलत हुने भएकाले विभागकी वरिष्ठ मौसमविद एवम् उपकरण क्यालिब्रेसन तथा व्यवस्थापन शाखा प्रमुख डा. कँडेल नेतृत्वको टोली स्थलगत अध्ययनमा आएको हो ।

‘हाम्रो टोलीले उपकरणमा केही कमीकमजोरी पो छ कि, कसैले बदमासीपूर्ण हिसाबले उपकरणमा पानी पो हाल्दियो कि भनेर अध्ययन गर्छ’ महानिर्देशक डा. कर्माचार्यले भने । ‘यद्यपि बदमासी भएको जस्तो खासै देखिँदैन । हामीकहाँ आउने १०–१० मिनेटको डेटा हेर्दाखेरि र वरपरका म्यानुअल स्टेसनका डेटासमेत हेर्दा प्राप्त तथ्यांक सही जस्तो देखिन्छ ।’

अध्ययन टोलीको रिपोर्टबाट वास्तविकता पत्ता लाग्ने र विभागले निष्कर्ष सार्वजनिक गर्ने उनले जानकारी दिए । ‘करिब हप्ता–दश दिनभित्रै निष्कर्ष सार्वजनिक गर्न सकिन्छ होला,’ उनले भने ।

विभागका महानिर्देशक डा. कर्माचार्यका अनुसार टोलीले कञ्चनपुरका पालिकाहरुमा यसै वर्षदेखि सुरु गरेको प्रभावमा आधारित पूर्वानुमानको प्रभावकारितासमेत अध्ययन गर्नेछ ।