Skip to main content

सरकारका प्रवक्ता भन्छन, ‘अध्यादेशबाट बजेट आउछ’

Submitted by editor on
शिवराज भट्ट
अक्कल रावल

धनगढी :  एमालेले समर्थन लिएपछि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । न अल्पमतमा परेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउन सकेको छ, न नयाँ सरकार गठनका लागि राजीनामा दिएर सहजिकरण गरिरहेको छ । सोडारी, सरकार नछोडने, नयाँ गठबन्धनका दलहरु अध्यादेश ल्याउन नदिने उपाय खोज्दै जान थालेपनि प्रदेशमा बजेट सुन्यताको अवस्था आएको छ । आर्थिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता अक्कल रावलसँग प्रधान सम्पादक शिवराज भट्टले गरेको कुराकानी

असार १ गते बजेट आयो, पास गर्नु सक्नुभएन, सरकार फेल भएको होईन ?
– यसको दोषी नेकपा एमाले हो । त्यतीबेला उसैले बजेट ल्यायो । एमालेबाट मन्त्री बनेका सुरेन्द्र बहादुर पालले बजेट प्रस्तुत गरे । अनी अहिले आएर आफैले ल्याएको बजेट पास नगरी भाग्न मिल्छ । त्यसैले यो बजेट सुन्यताको अवस्थामा पुगाउने एमाले हो ।

एमाले त, नयाँ सत्ता समिकरण बनेपछि पछि हट्यो, तर २० दिनसम्म किन बजेटमा छलफल नै सुरु नगर्नु भएको  ?
–हामीलाई यो नयाँ समिकरण बन्ला भन्ने अनुमान नै भएन । यसलाई म त राजनीतिक भुकम्प भन्छु । भर्खरै एमाले माओवादीको गठबन्धन बनेको छ, रातारात राजनीतिक भुकम्प आउला भन्ने कसलाई थाहा थियो र । बजेटमा प्रतिपक्षी (काँग्रेस) को चरम विरोध थियो । सुरुवातमै बजेट माथि छलफल चलायो भने गिजोलिन्छ भनेर असारको अन्ततिर छलफल गर्ने र पास पनि गर्ने सल्लाह थियो, विचैमा यस्तो भईहाल्यो ।

सत्ता समिकरण परिवर्तन भयो, सरकार असारको २० गते अल्पमतमा पनि परिसक्यो, अब पनि प्रदेशलाई अनिर्णयको बन्दी बनाउन मिल्छ ?
– होईन, हामी जिम्मेवारीबाट पछि हटदैनौ । बजेट पास हुन सकेन भने अध्यादेशबाट भए पनि बजेट ल्याउने हाम्रो तयारी छ । राजश्व संकलन रोकिएको छ । त्यसलाई सुचारु गर्न हामी लागि परेका छौं  । अल्पमतमा परेको कुरा कसरी भन्नुहुन्छ ? त्यो त विश्वासको मत लिएपछि नी थाहा हुने होईन ? 

एमालेले असारको २० गते नै समर्थन फिर्ता लिईसक्यो, त्यो अल्पमतमा परेको होईन ?
– त्यही त, अब हामी विश्वासको मत लिन्छौं, त्यसपछि अल्पमतमा परेका रहेछौं भने सरकार छोडौंला तर अहिले यसपछिको सरकारको कसको नेतृत्वमा बन्ने ? त्यो सरकार कहिले बन्ने ? त्यसले कहिले बजेट ल्याउने ? यी कुराको कुनै टुंगो छैन । त्यसैले अध्यादेशबाट बजेट ल्याउने तयारी भईरहेको छ । हामी तयारी अवस्थामै छौं । अध्यादेश सरकारले ल्याउने संबैधानिक प्रावधान छ । हामी संविधानको परिधिभीत्र रहेर काम गरिरहेका छौं ।

मन्त्री ज्यु, विश्वासको मत लिएपनि बहुमत पाईदैन भन्ने थाहा छ, बजेट सुन्यताको अवस्थामा यस्तरी सत्तामा टाँसी रहने हो र भन्या ?
–हामी टाँसिएका छैनौं । सबै कुरा विधी अनुसार नै भईरहेको छ । संविधान सर्वोपरि हो, हामी संविधार बाहिर गएर केही पनि गरिरहेका छैनौ, अब विश्वासको मतका लागि ३० दिनका समय त संविधानले नै दिएको छ नी । हामीले असंबैधानिक काम के गरेका छौं, तपाई नै भन्नुस न । 

भनेपछि साउनको १९ यता सरकार छोडिन्न ?
–छोडिन्न, हामी प्रदेशलाई बजेट सुन्यताको अवस्थाबाट मुक्त गर्नुपर्छ भन्ने कुरामा गम्भिर भएर लागेका छौं ।