धनगढी : सुदूरपश्चिममा जेनजीको आन्दोलनका क्रममा उग्र प्रदशर्नकारीहरुले ६ सय ८८ सवारी साधनमा क्षति पुर्याएका छन्। प्रदेशका ९ वटै जिल्लाबाट संकलित विवरणअनुसार १ सय १० चार पाङ्ग्रे र ६ सयभन्दा बढी दुई पाङ्ग्रे सरकारी सवारी साधनमा आगजनी र तोडफोडबाट क्षति पुगेको हो।
कैलालीमा ६ सय ६७, कञ्चनपुरमा १७ र डोटीमा ४ सवारी साधनमा आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय, अदालत, प्रशासन, भन्सार लगायत कार्यालयमा राखिएका सवारी साधनमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार २ सय ३३ भौतिक संरचनामा क्षति पुगेको छ। १५ प्रहरी कार्यालय, १ सय ४९ सरकारी कार्यालय, ३५ व्यापारिक कार्यालय तथा निजी भवन र ३४ पार्टी कार्यालय आगजनी र तोडफोड गरिएको हो। कैलालीमा ३ प्रहरी कार्यालयमा पूर्ण र २ मा आंशिक क्षति पुगेको छ। कञ्चनपुरमा ३ प्रहरी कार्यालयमा आगजनी र तोडफोडबाट आंशिक्ष क्षति पुगेको छ।
सुदूरपश्चिमा ७ वटा अस्थायी ट्राफिक पोष्टमा तोडफोड र आगजनी गरिएको छ। कैलालीमा २, कञ्चनपुरमा १ र बझाङमा १ गरी ४ सरकारी कार्यालय पूर्ण रुपमा ध्वस्त छन्। आगजनी र तोडफोडबाट कैलालीमा १ सय, कञ्चनपुरमा २३, डोटीमा ७, अछाम ४, डडेल्धुरामा ९ र दार्चुलामा २ सरकारी कार्यालयमा आशिंक क्षति पुगेको छ।
जेनजी प्रदर्शनका क्रममा २३ भदौंमा सरकारी दमनबाट १९ युवाको ज्यान गएपछि अर्को दिन प्रदर्शनकारीहरुले सरकारी कार्यालय, जनप्रतिनिधि र नेताहरुको घरलाई निसाना बनाएर आगजनी, तोडफोड र लुटपाट भएको थियो।
कैलालीमा १२ र कञ्चनपुरमा २३ गरी ३५ व्यापारिक तथा निजी भवन आंशिक क्षतिग्रस्त छन्। कैलालीमा १७, कञ्चनपुरमा ५, डोटी र अछाममा २र२, डडेल्धुरामा ५ र दार्चुलामा ३ गरी ३४ वटा विभिन्न पार्टीका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ। तुलनात्मक रुपमा अन्य जिल्लाभन्दा बाजुरा र बैतडी आन्दोलनका क्रममा भौतिक क्षतिबाट जोगिए। भौतिक क्षतिको विवरण संकलन गरिए पनि आर्थिक क्षतिको विवरण अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।