Skip to main content

कैलालीका ओझाले जब जहाजभीत्र एयर होस्टेजलाई दुर्व्यवहार गरे ...

Submitted by editor on
शिवराज भट्ट
श्री एयरलाईन्स

धनगढी : मंगलबार काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गर्ने कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको छ । उनलाई धनगढी विमानस्थलमा उत्रिने बित्तिकै प्रहरीले पक्राउ गरेको थियो । 

यस्तो थियो घटना 
मंगलबार त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलाईन्सको जहाज (उडान नं. २२५) ५० मिनेट ढिलोगरी ४ः५० बजे धनगढीका लागि उडेको थियो । जहाज उडेलगत्तै देखि ओझाले २ जना एयरहोस्टेज मध्ये १ जनालाई जिस्काउन थाले । 

श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन । एयरहोस्टेजले पटप–पटक सिटबेल्ट लगाउन भन्दा पनि उनले नमानेर जिस्काईरहे । त्यसपछिको उनले सीटको ह्याण्डील (हातराख्ने ठाउँ) मा खुुट्टा राखेर ग्यालरीमा हिडन असहज हुने हर्कत गरे ।

उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे । ‘तीन÷चार पटक अनुरोध गर्दा पनि नमानेपछि एयर होस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराईन । त्यतीबेला काठमाण्डौंबाट जहाज आधा समय उडिसकेको थियो’ स्टेशन म्यानेजर शाहीले भने ।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाईभर्ट गर्ने पर्छन । क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन’ शाहीले भने । ‘तर क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए । प्राधिकरणले प्रहरीलाई जानकारी गरायो । जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे ।’

श्रीययरलाईन्सको उडान नं. २२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाई रहेका थिए । काठमाण्डौंमा जहाजमा चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो । जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए । उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ ।