Skip to main content

यस्तो छ दोस्रो पटक मुख्यमन्त्री भएका कमल बहादुर शाहको राजनीतिक यात्रा

Submitted by editor on
शिवराज भट्ट
कमलबहादुर शाह

धनगढी : नेपाली कांग्रेसका कमलबहादुर शाह आइतबार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने आधार नदेखिपछि पदबाट राजीनामा दिएका थिए । 

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आईतबार बेलुकी ५ बजेसम्म नया सरकार गठनका लागि आह्वान गरेका थिए । शाहले काँग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको हस्ताक्षर सहित दाबी पेश गरेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन ।

आइतबारको नियुक्तिसँगै शाह दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट गरि चार जना मुख्यमन्त्रीका आकांक्षी थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री अघि बढाउने निर्देशन गरेसँगै शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन् । शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए । गठबन्धन फेरबदल भएर समर्थक दलहरुले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।

को हुन मुख्यमन्त्री शाह
२०२८ साल माघ १० गते अछामको रामारोशनस्थित टरीगैरामा जन्मेका शाह बुबाको जागिरसँगै तराई झरेका थिए । उनका बुबा मंगलबहादुर शाह नेपाल प्रहरीका सेवा निवृत्त कर्मचारी हुन् ।

उनकी आमा चन्द्रादेवी शाह र श्रीमती निर्मला कँडेल शाह हुन् । टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढेका शाहले व्यवस्थापन विषय (कमर्स) मा स्नातक गरेका छन् । २०४४ सालमा नेविसंघ हुदै राजनीतिमा प्रवेश गरेका उनी क्याम्पस इकाई सदस्यबाट राजनीतिमा आएका हुन । उनी २०४६ सालदेखि ५२ सालसम्म तरूण दलको खेलकुद विभागमा केन्द्रीय सदस्य भए ।

२०७० सालको दोस्रो संविधान सभा चुनावमा कैलाली–२ बाट उम्मेदवार बनेका उनी त्यसबेला पराजित भए । २०७९ को प्रदेश सभा निर्वाचनमा उनले मुख्य प्रतिस्पर्धी एमाले छाडेर नागरिक उन्मुक्तिबाट चुनाव लडेका रतन थापालाई हराएर चुनाव जितेका हुन् ।