Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन, भ्रष्टाचारमा ‘जीरो टोलरेन्स’

Submitted by editor on
शिवराज भट्ट
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचारमा ‘जीरो टोलरेन्स’ अपनाउने बताएका छन । सपथग्रहण लिएपछि पदभार ग्रहण गर्दै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।

‘पहिलो कार्यालयमा मैले भ्रष्टाचारमा सुन्य सहनशीलताको नीति अपनाएको थिए, अब पनि मेरो प्रार्थमिकता त्यही रहन्छ’ उनले भने । ‘सरकारका केही गल्ती कमीकमजोरीहरु छन भने पत्रकारहरुले आलोचनात्मक रुपमा लेखिदिनुहोला, म त्यसमा एक्सन गर्न तयार छु ।’

उनले प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था चाडै अन्त्य गर्ने बताए । ‘बजेट शून्यताको अवस्थालाई छिट्टै अन्त्य गरेर राजश्व संकलन र दैनिक खर्चको विषयमा निकाश दिन्छु । तत्कालका लागि पेश्की बजेट आउन सक्छ । संसदको विषेश अधिवेशन अन्त्य गरेर अर्को अधिवेशनमा पूर्ण रुपमा प्रतिस्थापन बजेट आउछ’ उनले भने ।

उनले सरकारको गठन प्रकृया हेर्दा पनि अब सरकारले काममा तिब्रता दिने बताए । ‘आज सरकार गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तिव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ । विगतमा मन्त्री को हुन्छ ? भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो’ शाहले भने, ‘तर योपटक सबै मन्त्री ज्यूलाई एकैपटक सपथ ग्रहण गराएका छौँ । हामी सचिव ज्यूहरुसँग बसेर राजश्व र दैनिक खर्चको कुरामा एक÷दुई दिनभित्र निकास दिन्छौँ ।’

दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका शाहले ६ जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

पदभार ग्रहण गरेपछि शाहले वित्तिय अनुशासन, सुशासन प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरणका विषयमा अध्ययन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरेका छन् ।

यस्तै प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क ब्लड बैँक सञ्चालन र व्यवस्थापनका विषयमा आवश्यक अध्ययन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने, प्राकृतिक विपद्बाट हुने मानवीय क्षति सम्बोधन गर्न विपद् जोखिम न्यूनीकरण बिमा सञ्चालन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेका छन् ।