Skip to main content

विश्वासको मतका लागि सुदूरपश्चिममा संसद अधिवेशन आह्वान, नयाँ बजेट आउने सम्भावना

Submitted by editor on
मंगलबार वा बुधबार मुख्यमन्त्रीले विश्वासको मतलिने सम्भावना, यसै अधिवेशनमा पूर्ण बजेट ल्याउने तयारी
शिवराज भट्ट
प्रदेश सभा बैठक आह्वान

धनगढी : सुदूरपश्चिममा विषेश अधिवेशन अन्त्य भएपछि प्रदेश प्रमुख नजिर मियाले साउन २७ गते प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका छन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

यसअघि निवर्तनमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले असारको ३० गते बजेट अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख मियाले साउनको ४ गते बजेट अधिवेशन अन्त्य गरेका थिए । तर सोडारीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको थाहा पाएपछि काँग्रेस र एमालेका एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाले साउन ८ गते विषेश अधिवेशन आह्वान गरेका थिए ।

विषेश अधिवेशन बाढीपहिरो प्रभावितहरुलाई राहत, क्षतीपूर्ती दिन सरकारलाई निर्देशन गर्दै साउन २३ गते अन्त्य गरिएको थियो । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलनका लागि मात्रै ‘सुदूरपश्चिमको सामयीक कर संकलन सम्बन्धि अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेश विहीबार प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशित भएपछि शुक्रबार देखि करसंकलनको कार्य सुरु भईरहेको छ ।

पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिनेछन भने यसै अधिवेशनमा बजेट पनि आउने भएको छ । सरकारले प्रतिस्थापन बजेटका रुपमा पूर्ण बजेट ल्याउन लागेको हो । यसअघिका मुख्यमन्त्री सोडारीका पालामा असार १ गते संसदमा प्रस्तुत भएको बजेट टेबुल नै हुन नसक्दा निश्क्रिय भएको थियो ।

‘सकेसम्म मंगलबार नत्र बुधबार विश्वासको मत लिने तयारी भईरहेको छ । विश्वासको मत लिएर बजेट पनि बनाउनु छ । प्रदेशमा बजेट शून्यताको अवस्थाले विकास निर्माण प्रभावित भएका छन भने सरकारको कामकाजमा पनि समस्या भएको छ’ मुख्यमन्त्री कमल बहादुर शाहले भने ।