Skip to main content

बजेटप्रति माओवादी सांसदहरुको ब्यंग्य, रातो किताबलाई भने कालो किताब

Submitted by editor on
ईबिगुल संवाददाता
रातो किताब


धनगढी ः असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलको टुंगो छैन, तर बजेटप्रति सत्ता पक्षकै सांसदहरुले असन्तुष्टि छताछुल्ल भईरहेको छ । सोमबार प्रदेश सभा सदस्यहरुले रातो किताब पाएका छन । रातो किताब हेरेर सत्ता पक्षकै दुई जना सांसदले फेसबुकमा ब्यंग गरेका छन ।


पुर्व उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मानबहादुर धामीले फेसबुकमा रातो किताबको बाहिरि आवरणको तस्बिर हालेर लेखेका छन, ‘तिमिसँग भेटन त के, हेर्नसम्म पनि लायक रहेनौ । डियर पवित्र । तिमि एक्लै बस्नु ल ।’ उनको स्टाटसले रातो किताबमा आएको बजेटप्रति उनको एकदमै बढी गुनासो देखिन्छ ।


नेकपा माओवादी केन्द्रकै अर्का सांसद ओमविक्रम भाटले पनि फेसबुक स्टाटस हाल्दै रातो किताबलाई कालो किताब भन्दै ब्यंग्य गरेका छन । उनले रातो किताबको स्यामस्वेत तस्बिर हालेर लेखेका छन, ‘सुदूरपश्चिम प्रदेशको आव २०८०÷८१ को रातो किताब, रातो आउने स्वभावित अपेक्षा थियो, तर कालो आएछ ।’ उनले काँग्रेस बजेटमा बढी हाबी भएको संकेत गरेका छन ।


असार १ गते आएको बजेट माथि अझै छलफल सुरु भएको छैन । १ गते को बजेट बक्तब्यपछि संसद अनिश्चितकालका लागि स्थगित गरिएको थियो । संसद सचिवालयले बजेट माथिको छलफलको बारेमा अझै कुनै टुंगो नलागेको बताएको छ । ‘सोमबार त बजेट पुस्तिका हातमा परेको छ । केही  दिन अध्ययन गरेर छलफल होला’ एक जना प्रदेश सांसदले भने । 


असार १ गते प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थियो । गत आवको भन्दा यो बजेट करिब ४ अर्वले सानो हो ।