Skip to main content

कैलालीमा बढदै धर्मान्तरण, १५ परिवारका लागि तीनवटा चर्च निर्माण

Submitted by editor on
ईबिगुल संवाददाता
१५ परिवार इसाईका लागि तीन वटा चर्च खोलिए

धनगढी : कैलालीमा धर्मान्तरणको कार्य तिब्रताका साथ अघि बढिरहेको छ । हिन्दु धर्मावलम्बीहरुलाई ईसाई बनाउने कार्यमा तिब्रता आएको हो । धनगढीको मनेहरामा तालिम र सेमीनार हल भनेर निर्माण भएको चर्च भत्काएको केही दिनमै सोही आसपासमा १५ परिवारका लागि तीन वटा चर्चा निर्माण भएको खुलासा भएको छ ।  

कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा, राना गाउँमा करिब १५ परिवार इसाईका लागि तीन वटा चर्च खोलिएका हुन । सरस्वती माध्यमिक विद्यालयको दक्षिणमा अवस्थित मनेहरा गाउँमा दुई वटा चर्च यसअघि नै खोलेकोमा तेस्रो चर्च निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

चर्चमा रङरोगन र फर्निसिङको काम मात्रै बाँकी छ । राना समुदायको करिब दुई सय पचास परिवारको बसोबास रहेको मनेहरा गाउँमा भुसको आगो झै इसाईकरणको आगो सल्किएको स्थानीयले टिप्पणी गरेका छन् ।

गाउँमा चर्च पसेपछि एउटै परिवारका केही सदस्य इसाई बन्ने र केही स्वधर्ममै रहने प्रवृत्ति देखा परेको उनीहरूले बताएका हुन् । इसाईकरण बढेसँगै रानाथारू परिवार र समाजमा विखण्डन आएको छ भने धर्म, संस्कृति र परम्परासमेत संकटमा पर्ने चिन्ता स्थानीय बुढापाकाले गरेका छन् ।

मनेहरा गाउँमा करिब २५० परिवारको बसोबास छ । रानाथारुको यो निकै पुरानो बस्तीमा केही चौधरी समुदायको समेत बसोबास छ । करिब पाँच वर्ष अगाडि गाउँमा कुनै चर्च थिएनन् । तर, अहिले तेस्रो चर्च निर्माणको काम धमाधम भइरहेको छ । गाउँमा करिब १५ परिवार मात्रै इसाई धर्म मान्छन् । ती परिवारका करिब एक सय जनाका लागि तीन वटा चर्च निर्माण भएका हुन ।

गाउँमा चर्च विस्तार गर्न धनगढी–२ सन्तोषी टोलमा रहेक कलबरी चर्चले सहयोग गरेको छ । नयाँ बन्न लागेको चर्चका लागि जग्गा उपलब्ध गराउने मथुरा रानाले कल्बरी चर्चको शाखा खुल्न लागेको बताए । उनले गोदामका लागि बनाउन लागेको घर चर्चलाई दिने सल्लाह भएको बताए ।

रोग निको हुने र समस्याबाट छुट्कारासँगै मृत्युपछि स्वर्ग सहजै जाने प्रलोभन देखाएर इसाइकरण भुसको आगो झै सल्किइरहेको मनेहरा गाउँका स्थानीयले बताए । 

इसाई बनेको व्यक्तिले कुलदेवता नमान्ने, देउथान उखेलेर फाल्ने, थारु जातिको मौलिक पर्व र चाड नमान्ने मात्रै होइन आफन्त मर्दासमेत अन्त्येष्टिमा सामेल हुन छोडेको भलमान्सा रामकुमार रानाले बताए ।