धनगढी : धनगढीका थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुने भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडकसहितका ३१६ पोलमा स्ट्रिप लाइट जडान गरेको उपमहानगरपालिकाले थप ५७६ पोलमा स्ट्रिप लाइट जडान गर्ने भएको हो ।
धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’का लागि ८० लाख बजेट विनियोजन गरेको छ । धनगढीका नयाँ सडकहरु झिलिमिली हुने भएका हुन् । सहर सौन्दर्यीकरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट जोडेको पोलमा स्ट्रिप लाइट लगाइने भएको हो ।
धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत स्मार्ट स्ट्रिट जडान गरेका सबै पोलहरूमा स्ट्रिप लाइट जडान गर्ने भएको हो । नगरलाई सुन्दर र उज्यालो बनाउनको लागि स्ट्रिप लाइट जडान गरिने भएको धनगढी उपमहानगरपालिकाले बताएको छ ।
हालसम्म धनगढी–अत्तरिया ६ लेन सडक र क्याम्पस चोक–जनआवाज चोकसम्मका २४० पोल र १६० ट्री–गार्डमा स्ट्रीप लाइट जडान गरिएको छ । अब उपमहानगरले क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत निर्माण भएका धनगढीका सबै सडकका थप ५७६ पोलमा स्ट्रिप लाइट जडान गरिने विद्युत् शाखा प्रमुख इन्जिनियर किसनकुमार शाहले बताए ।
उपमहानगरको ‘उज्यालो धनगढी’ अभियान मार्फत् रात्रिकालीन यात्रालाई सुरक्षित र सहज बनाउन तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । हालसम्म त्रिनगर भन्सारदेखि ६ लेन सडकको गोदावरी नगरपालिकाको सिमानासम्म, हुलाकी सडक अन्तर्गत क्याम्पस चोकदेखि जनआवाज चोकसम्म, धनगढी विमानस्थल चोकदेखि विमानस्थलसम्म, सहिद गेटदेखि क्याम्पस चोकसम्म, कैलाली पुलदेखि ट्राफिक चौराहसम्म, हसनपुर सडकलगायतका क्षेत्रमा सडक बत्ती जडान गरी झलमल्ल बनाइएको छ ।
हालसम्म नगरक्षेत्रका ३० ठाउँमा हाइमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइसकेको छ । १९ वटै वडाको आर्थिक चहलपहल हुने ठाउँको चोकमा हाइमास्ट लाइट राखिएको छ भने वडाको आर्थिक गतिविधि हुने क्षेत्रमा थप बत्ती जडान गरिने छ । धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले ‘उज्यालो धनगढी’ अभियान सहर हुँदै ग्रामीण बस्तीहरूमा लैजाने बताए ।