धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित नाष्ट कलेज नजिकको व्यापारिक क्षेत्रमा आईतबार राति भीषण आगलागी भएको छ । अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार विश्व प्रकाश कडेलद्वारा सञ्चालित हेलेन ट्रेड सप्लायर्स (४ वटा सटर), परिवर्तन इन्पेक्स (३ सटर) र सेन्टर पोइन्ट रेस्टुरेन्ट (१ सटर) गरी जम्मा ८ वटा सटरमा आगलागी भएको थियो ।
राति करिब १०ः५० बजे सुरु भएको आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा ४५ जनाको प्रहरी टोली तथा सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको कमाण्डमा २५ जनाको सशस्त्र टोली परिचालित गरिएको थियो ।
धनगढी उपमहानगरपालिकाबाट २ वटा र गोदावरी नगरपालिकाबाट १ वटा दमकलसहित स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य तीव्र रुपमा अगाडि बढाइएको थियो । निरन्तर प्रयासपछि राति १२ः१० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
मानविय क्षति नभए तापनि ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।