Skip to main content

आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी मनाइँदै

Submitted by editor on
ईबिगुल संवाददाता
आज छठ पर्वको तेस्रो दिन

धनगढी : आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ । 

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्व मंगलवारबाट विधिवत रुपमा शुरु भएको हो । छठको मुख्य विधि अन्तर्गत पहिलो दिन अरबा–अरबाइन गरिन्छ जसलाई नहायखाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

सोहि अनुसार पर्वको पहिलो दिन मंगलबार व्रतालु महिला र पुरुषहरुले नहाय खाय अर्थात् नुहाएर खाएका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरि मनाउने गर्छन ।

पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिँदै छठ पर्व धुमधामकासाथ मनाइँदैछ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । 

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

त्यस्तै षष्ठीका दिनअर्थात् आज साँझ गहुँ र चामलको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, नरिबल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

केही वर्ष अघि यो पर्व मधेसी मुलका समुदायले मात्रै मनाउने गरेकोमा अहिले पश्चिमको पहाडी समुदायले पनि मनाउन थालिएको छ । धनगढीको मोहनाघाटमा छठ पर्वको तयारी भब्य रुपमा चलिरहेको छ  ।

बढी जसो मधेसी समुदायले मनाउने यो पर्व पछिल्ला वर्षहरुमा सुदूरपश्चिमको धनगढीमा पनि भब्यताका साथ मनाउन थालिएको हो । सुदूरपश्चिममा पनि मधेसी समु्दायको बसोबास बाक्लिएसँगै छठको रौनक पनि बढन थालेको छ । छठ पुजा सेवा समिति, धनगढीका अध्यक्ष सन्तोष मण्डलले धनगढीको मोहनाघाटमा २ सय बढी स्टल सहितको छठपुजा स्थल तयार भएको बताए ।

धनगढीको मोहना नदीको घाट बेहुली जस्तै सिंगारिएको छ । भारतको विहारबाट भगवानका मुर्ती बनाउने कारिगर बोलाईएका छन । उहीहरुले घाटमै गएर मुर्ती सजाई रहेका छन । त्रिनगर भन्सारको गेट नजिकै भब्य गेट निर्माण गरिएको छ भने करिब ४ सय मीटरको पुजा स्थलमा सुन्दर पारेर टेन्ट सजाईएको छ ।