Skip to main content

आन्तरिक मामिलामन्त्रीलाई अन्तिम श्रद्धाञ्जली दिईदै

Submitted by editor on
ईबिगुल संवाददाता
सिंहको शव अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा

धनगढीः मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ । डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा उनको दुर्घटनामा परि मृत्यु भएको थियो ।


मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो १ः३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।  जीप  केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । 


दुर्घटनापछि उपचारका लागि मन्त्री सिहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनलाई कोहलपुर मेडिकल कलेजले मृत घोषणा गरेको थियो । मन्त्री सिहको शव मंगलबार राती नै धनगढी ल्याईएको थियो । 


बुधबार विहान १० बजेदेखि सिंहको शव अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको रंगशालामा राखिएको छ । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सभामुख भीम बहादुर भण्डारीले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरे । 


श्रद्धाञ्जली दिन प्रदेश प्रमुख देबराज जोशी, प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्र सिह रावल, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका मन्त्रीहरु, नेपाली सेनाका पृतनापती, धनगढी नगरपपालिकाका मेयर, उपमेयर सहित संयौंको सहभागिता रहेको थियो ।


सिहको शव आजै हेलिकप्टरबाट बझाङ लगिने भएको छ । दुर्घटनामा उनकी श्रीमती अमृता सिंह र  भाउजु जयदेवी सिंहको पनि मृत्यु भएके थियो । मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।