धनगढी : कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माणमा देखिएको चरम ढिलासुस्ती र ठेकेदारको लापरवाही विरुद्ध स्थानीय बासिन्दा आन्दोलित छन् ।
जनप्रतिनिधिहरुको अगुवामा नै आज (सोमबार) आन्दोलन हुने भएका छ । बिहान ९ बजे देखि ११ बजेसम्म अत्तरिया चोकमा दुई घण्टा चक्का जाम गर्ने घोषणा गरिएको हो । वडा अध्यक्ष र स्थानीयहरुको सहभागिता हुनेछ ।
गोदावरी नगरपालिका–३, १०, ११ र १२ वडालाई जोड्ने उक्त सडक खण्डको निर्माण कार्य सुरु भएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । पटक–पटक सम्झाइ बुझाइ गरे पनि ठेक्का लिएको एडवान्जर थिगीम जेभी र तेडी निर्माण सेवाले काम नगरेपछि संघर्ष समिति गठन गरी दबाबमूलक अत्तरिया चोकमा चक्का जाम गर्ने भएका छन् ।
संघर्ष समिति संयोजक विक्रम बिकले आइतबार पत्रकार सम्मेलन मार्फत सोमबार अत्तरिया चोकमा आन्दोलनको घोषणा गरेका हुन् । यसअघि वडाध्यक्षहरूले कार्यालय सञ्चालन समेत सडकमै बसेर गरेको स्मरण गराउँदैँ उनले भने, “अब कामलाई तीव्रता नदिए चरणबद्ध आन्दोलनमा उत्रिनेछौं ।,”
यस्तै गोदावरी नगरपालिका–११ का वडाध्यक्ष प्रेम सिंह बडैलाले ठेकेदारको लापरबाहीले स्थानीयवासीलाई दैनिक दुःख भोग्नुपरेको बताए । “आन्दोलनमा उत्रिनु होइन, बाध्यता हो,” उनले भने ।
त्यसैगरी वडा नं १२ का वडाध्यक्ष भीम बहादुर खड्काले सोमबारको चक्का जाम सांकेतिक मात्रै हुने जनाउँदै, “यदि त्यसपछि पनि सुनुवाइ भएन भने जिरोपोइन्टमा अनिश्चितकालीन सडक अवरोध गर्नेछौं,”
साथै सम्मेलनमा गोदावरी नगरपालिका–३ का वडाध्यक्ष तेजराज अवस्थीले भने सरकारले समेत बेवास्ता गरेको आरोप लगाए । उनले प्रश्न गरे, “२०७६ सालमा ठेक्का भएको सडक ६ वर्ष बितिसक्दा पनि किन सम्पन्न हुन सकेन ? ठेकेदारलाई अहिलेसम्म कानुनी दायरामा किन ल्याउन सकिएन ?”
जनप्रतिनिधिले यो आन्दोलन कुनै व्यक्ति वा क्षेत्र विशेषका लागि नभई विकास निर्माणमा देखिने जथाभावी र लापरबाही विरुद्ध चेतावनीका रूपमा गरिने भएको बताए ।
ओलानीका जनताको लाइफलाइनका रूपमा रहेको यो सडक निर्माणको काम आर्थिक वर्ष २०७६÷०७७ देखि नै सुरु भएको हो । सडकको जिरो पोइन्ट देखि सेतो पुल सम्म २२ सय मिटर सडक एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीबाट सम्पन्न भए पनि दोस्रो खण्ड सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्मको अढाई किलोमिटर र तेस्रो खण्ड वडा कार्यालय देखि बाङ्गेसाल सम्मको ३ किलोमिटर सडक विगत ६ वर्ष देखि अलपत्र छ ।
दोस्रो खण्डको सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभि तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरिएको थियो । ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र पार्दा नागरिकलाई सकस छ ।