Skip to main content

राजघाटको झोलुङ्गे पुल बन्यो भाईरल, आन्तरिक पर्यटकको भिड

Submitted by editor on
ईबिगुल संवाददाता
pul

धनगढी : झोलङ्गे पुल निर्माण हुँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट जोड्ने पुल निर्माण पश्चात स्थानीयलाई यात्रा गर्न सहज भएको हो ।
पुल निर्माणका लागि कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ मा ८० लाख ९० हजारमा टेण्डर आह्वान गरेको थियो । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा सो पुल निर्माण भएको हो । आर्थिक वर्ष २०८०र८१ मा पुल निर्माणको काम सम्पन्न भएको कृष्णपुर नगरपालिकाका इन्जिनियर बिष्णु जोशीले जानकारी दिए ।
वर्षातको समयमा वडा नं. ८ स्थित मजगाईबाट कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको र अहिले त्यस्तो समस्या नरहेको स्थानीय शारदादेवी चौधरीले बताइन् । ‘वर्षातको समय मोहना नदीमा बाढी आउँदा धनगढी आवतजावत गर्न गाह्रो थियो’ उनले भनिन् ‘अहिले पुल बनेपछि त्यस्तो समस्या छैन ।’
‘धनगढी काम पर्छ । उपचार गर्न या अन्य काम सबै त्यतै पर्छ’ उनले भनिन् ‘पुल बनेपछि समस्या अन्त्य भएको छ ।’
अर्का स्थानीय रेखा चौधरीले पुल बनेपछि स्थानीय खुशी भएको बताइन् । पुल बनेपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कृष्णपुर नगरपालिका, धनगढी आसपास क्षेत्रका आन्तरिक पर्यटक पुलको अवलोकन गर्न आउने गरेका छन् ।
बिदाको दिन पुलमा अवलोकन गर्नेको भीड हुने गरेको स्थानीय पदम विकले बताए । शनिबार र अन्य बिदाको समय पुलमा टिकटक बनाउनेको भीड हुने गरेको उनको भनाइ छ ।
‘बिदाको दिन भीडभाडले पुल नै भाच्चिने अवस्थाको हुन्छ’ उनले भने ‘पुलमा राष्ट्रिय झण्डा लगाएर टिकटक बनाउने गरिएको छ । पहिले चहलपहल कम थियो, पुल बनेपछि धनगढीबाट राजघाट र राजघाटबाट धनगढी आउने जानेको पनि भीड हुने गरेको छ ।’ यहाँको झोलुङ्गे पुल भाईरल पुलको नामले पनि परिचित भइसकेको उनले बताए ।