Skip to main content

घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउँदै

Submitted by editor on
ईबिगुल संवाददाता
थारू लोककला

धनगढीः घरको भित्तामा माटोको चित्र बनाउने थारू लोककला हराउन थालेको छ ।

पक्की घर बनाउने क्रम बढेसँगै थारू लोककला हराउन थालेको हो । अचेल कच्ची घर बनाउनेले समेत घरको भित्तामा थारू पहिचान दर्साउने चित्र बनाउँदैनन् । विगतमा थारू समुदायको कच्ची घरमा हात्ती, घोडा, मयूर, डोला–डोली बोकेको मान्छे, रुखलगायतका चित्र बनाउने गरिन्थ्ये ।

माटोले बनाइएका यस्ता चित्रले सो घर थारू समुदायको रहेको बुझिन्थ्यो तर पक्की घर बनाउने लहर चलेसँगै परम्परागत यो लोककला हराएको थारू कल्याणकारिणी सभा कैलालीका पूर्वउपसभापति माधव चौधरीले बताए ।

’अहिले यस्तो लोककला देख्न पाइँदैन,’ उनले भने, ’हाम्रो मौलिक पहिचान दर्साउने परम्परागत लोककला लोप भइसकेको छ ।’ सहरी क्षेत्रमा थारू समुदायका मानिसले प्रायः पक्की घर बनाइरहेका छन् । ग्रामीण क्षेत्रमा अझै पनि धेरै जसो कच्ची घर नै देख्न पाइन्छ तर ती घरमा परम्परागत मौलिक लोककला भने देखिँदैन। मौलिक लोककला हराउँदै गएपछि थारू होमस्टे सञ्चालन रहेको कैलालीको फकलपुर गाउँमा पक्की घर भए पनि एउटा कच्ची घर बनाउने र त्यसमा मौलिक लोककला दर्साउने चित्र बनाउने अभियानको थालनी गरिँदै छ ।

जागृति युवा क्लब र त्यहाँको गाउँसमाजले कच्ची घर पनि बनाउने र भित्तामा चित्र बनाउने अभियान चलाउने सो गाउँवासीसमेत रहेका चौधरीले जानकारी दिए । उनले भने, ’फकलपुरमा कुनै पनि थारूघर थारू समुदायको घर जस्तो छैन । सबै पक्की भएपछि अब हरेक घरकाले कच्ची घर पनि बनाउने र त्यसमा परम्परागत चित्र बनाउने अभियान चलाइँदै छ ।’

रानाथारू र कठरिया थारू समुदायले पनि कच्ची घरमा परम्परागत लोककला दर्साउने माटोको चित्र बनाउने चलन थियो । त्यो चलन पनि हराउँदै गएको छ । धनगढी क्षेत्रमा थारू घरको भित्तामा कहीँ पनि मौलिक चित्र नदेखिने गरेको धनगढी गाउँका सूर्य चौधरीले बताए । ’पहिले रानाथारू घरमा त्यस्तो चित्र देखिन्थ्यो’, उनले भने, ’अहिले त रानाहरूको घरमा पनि छैन ।’