धनगढी : धनगढी उपमहानगरपालिकाले अत्याधुनिक (फोम) दमकल सार्वजनिक गरेको छ । बुधबार एक समारोहका बीच नगर प्रमुख गोपाल हमालले दमकल उद्घाटन गरेका हुन् । धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधियुक्त दमकल खरिदमा ६६ लाख ३५ हजार ३ सय ५० रुपैयाँ खर्च भएको जनाएको छ । पाँच हजार लिटर पानी अटाउने क्षमतासहितको उक्त दमकलमा आगो नियन्त्रणका लागि आवश्यक रसायन राख्ने सुविधा पनि रहेको छ ।
उपमहानगरका अनुसार इन्धन डिपो, प्लास्टिकजन्य पदार्थ, टरपेन्टाइन लगायत सामान्य पानीले निभाउन नसकिने आगलागी नियन्त्रणमा यस दमकलले प्रभावकारी काम गर्नेछ । नगर प्रमुख हमालका अनुसार उपमहानगरपालिकाले हालसम्म आठ स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिसकेको छ, जसले दमकलमा पानी भर्न सहज बनाउनेछ । उनले ‘हरघडी नगर प्रहरी’ भन्ने नारालाई व्यवहारिक बनाउन उपमहानगरले गरेको लगानी र तयारी सुदूरपश्चिममै अब्बल रहेको उल्लेख गर्दै आगलागीको खबर प्राप्त भएको तीन मिनेटभित्रै दमकल परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
दमकलमा ५ हजार लिटर पानी र ५ सय लिटर केमिकल भर्ने क्षमता रहेको उपमहानगरले जनाएको छ । दमकल उद्घाटन कार्यक्रममा मेयर हमालले नगरवासीलाई बिना कारण दमकल सेवामा फोन नगर्न आग्रह गर्दै आगलागी हुँदा भने तुरुन्तै उपमहानगरको दमकल सेवामा जानकारी दिन अनुरोध गरे ।
फोम सहितको दमकल भन्नाले साधारण पानी मात्र प्रयोग गर्ने दमकल होइन, तर आगो निभाउन विशेष किसिमको फोम उत्पादन गरेर छर्कने क्षमता भएको दमकल हो । यसमा फोम ट्याङ्की हुन्छ, जसमा पानी र फोम बनाउने रसायन राखिन्छ ।
आगो लाग्दा पम्पमार्फत पानी र फोम मिसाएर फोम सोलुसन बनाइन्छ । उपमहानगरपालिकाका अनुसार त्यसलाई फोम नोजल वा फोम मोनिटरबाट छर्किन्छ । फोमले आगो लागेको सतहलाई छोपेर अक्सिजनलाई आगोबाट अलग गर्छ र सतहलाई चिसो पार्छ । फोम सहितको दमकल पेट्रोलियम ट्याङ्क, ग्यास स्टेशन, विमानस्थल, कारखाना आदि जस्ता स्थानमा, जहाँ तेल, पेट्रोलियम पदार्थ वा रासायनिक पदार्थको आगलागी हुने ठाउँमा प्रयोग हुने छ ।
यस्तो आगोमा पानी मात्रले बुझाउँदैन, त्यसैले फोम दमकल विशेष रूपमा प्रभावकारी हुन्छ । यो दमकल सहित धनगढीमा दुई दमकल भएका छन् । यस अघि धनगढीमा आगलागि हुँदा अन्य पालिकाबाट मगाउनुपर्ने बाध्यता रहेको थियो ।