Skip to main content

विपद् जोखिम न्यूनीकरणमा मिडियाको महत्त्वपूर्ण भूमिका

Submitted by editor on
ईबिगुल संवाददाता
 मिडियाको भूमिका

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले विपद् जोखिम न्यूनीकरणमा मिडियाको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।

धनगढीमा बिहीबारदेखी सुरु भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सबलीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

सुदूरपश्चिममा प्रत्येक वर्ष विभिन्न किसिमका विपद् घटिरहने  हुँदा यसको पूर्व तयारी पनि आवश्यक रहेको उनको भनाई छ ।

उनले विपद्का समयमा सबै भन्दा बढी महत्त्वपूर्ण सञ्चार माध्यमको रहेको बताएका छन् । सञ्चार माध्यमबाट छिटो छरितो रूपमा सही सूचना प्रवाह गर्न सके विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।

“मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन नपत्याउँदा विभिन्न घर डुबानमा परे, बाली डुबे उनले भने–समयमै यदि यस्ता सूचना अनुसार तयारी गर्न सके जोखिम कम हुन्छ” । विपद् जोखिमका कारणहरू पनि हामी आफै रहेको उनको भनाई छ । उनले पानी निकासको बाटो ब्लक हुने काम हामी आफैँ ले गरिरहँदा बाढीको जोखिम बढेको बताए । काठमाडौँका सहर होस् या सुदूरपश्चिम सबै तिर पानी निकासको बाटो प्रभावकारी नहुँदा पनि यस्ता समस्या आइरहेको उनको भनाई छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सुदूरपश्चिम अझै पनि बढी जोखिममा रहेको बताए । हमालले यहाँ विभिन्न खालका विपद्का घट्ना घटिरहेको हुँदा यसबाट सिकाई लिई यसको न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए । उनले विपद्को समयमा हुने क्षति न्यूनीकरणका लागि सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

हमालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पत्रकारले सशक्त भूमिका निर्वाह गर्नु पर्ने बताए ।
पत्रकारले विभिन्न अभावका बिच पनि विपद् सम्बन्धी रिपोर्टिङ गरिरहेको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले बताए । उनले विपद्का रिपोर्टिङ गर्न विशेष तालिमहरूको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति दीपेन्द्र सिंह विष्ट, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई, सिनियर डिजिटल हाईड्रोलोजिस्ट राम प्रसाद अधिकारी, सिनियर डिभिजनल मेट्रोलोजिस्ट विभूति पोखरेल लगायतले विभिन्न विषयमा प्रस्तुतीकरण गरेका हुन् ।

कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र मर्सिकोरको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । 
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।