धनगढी : सुदूरपश्चिम प्रदेशमा एक वर्षमा जबरजस्ती करणीका १ सय ८४ मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका नौ वटै जिल्लामा उक्त मुद्धा दर्ता भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा जबरजस्ती करणीका ८९ वटा मुद्धा दर्ता भएका छन् । त्यस्तै, कञ्चनपुरमा ३५, बझाङमा १२, बाजुरामा १० वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डोटी र बैतडीमा ९/९, अछाम र डडेल्धरामा ८\८ र दार्चुलामा ४ वटा मुद्धा दर्ता भएको जनाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०\८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा जबरजस्ती करणीका मुद्धा घटेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ प्रदेशभरी जबरजस्ती करणीका २ सय २ मुद्धा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा पनि सबैभन्दा बढी कैलालीमा ८१ मुद्धा दर्ता भएका छन् भने कञ्चनपुरमा ४१ मुद्धा दर्ता भएका छन् ।
त्यस्तै,बैतडीमा २२, अछाममा १२, बझाङमा ११, बाजुरा र डडेल्धुरामा १०/१०, डोटीमा ८ र दार्चुलामा ७ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।