Skip to main content

कानाचौरका स्थानीय सुत्केरीलाई काँधमा बोकेर अस्पताल लैजान बाध्य

Submitted by editor on
ईबिगुल संवाददाता
सुत्केरी

डोटी :डोटी जिल्लाको दुर्गम गाउँका बासिन्दाहरू अहिले पनि यातायात सुविधाको अभावका कारण सुत्केरी तथा गम्भीर बिरामीलाई अस्पताल पुर्याउन पैदल यात्रा गर्न बाध्य छन्। पछिल्लो उदाहरण बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौरका मनोजबहादुर बुढाकी श्रीमती निर्मला देवी बुढाको हो।

११ दिनदेखि बिरामी परेकी निर्मला देवीको मुखबाट रगत आउने समस्या थियो। उनलाई सुत्केरी बेथा लागेको , गाउँमा यातायात सुविधा नहुँदा उनलाई अस्पताल लैजान निकै कठिन भयो। परिवारजन र स्थानीयबासीको सहयोगमा उनीलाई काँधमा बोकेर नजिकैको कानाचौर स्वास्थ्य चौकीसम्म पुर्याएको थियो।

स्थानीय कृष्ण साउद भन्छन्, “हाम्रो गाउँमा गाडी पुग्ने बाटो छैन। यो समस्या पहिलो पटक होइन, बारम्बार यस्ता घटनाहरू दोहोरिरहेकै छन्। बिरामी र सुत्केरी महिलाहरूलाई निकै कष्टका साथ उपचार केन्द्रसम्म पुर्याउनुपर्छ।” उनका अनुसार यो समस्या समाधान गर्न स्थानीय तहले ध्यान दिनुपर्ने भए पनि हालसम्म कुनै पहल भएको छैन।

डोटीका दुर्गम गाउँहरूमा आधारभूत स्वास्थ्य सेवा पुग्न नसक्दा गर्भवती तथा सुत्केरी महिलाहरू बढी जोखिममा छन्। स्थानीय स्वास्थ्य संस्थाहरूमा अत्याधुनिक सेवा उपलब्ध छैन, जसका कारण साना स्वास्थ्य समस्याहरूले पनि जटिल रूप लिन सक्छन्।

यसअघि पनि धेरै बिरामीलाई यस्तै अवस्थामा काँधमा बोकेर वा डोकोमा बाँधेर अस्पताल पु¥याइएको छ। यातायात सुविधा नहुँदा गाउँलेहरूले बिरामीलाई घण्टौं हिँडेर नजिकको स्वास्थ्य चौकी वा अस्पताल पु¥याउनु पर्ने बाध्यता छ। स्थानीयहरूका अनुसार छिमेकी गाउँमा सडक निर्माण भए पनि अझै गाडी चल्ने अवस्था छैन। सडक सुधार, स्वास्थ्य पूर्वाधार विकास, र एम्बुलेन्स सेवाको व्यवस्था हुन सके स्थानीयहरूले यस्ता कष्ट सहनु नपर्ने थियो।

बिरामीको समयमै उपचार नपाउँदा ज्यान नै जोखिममा पर्ने खतरा हुन्छ। यसैले, स्थानीय र प्रदेश सरकारलाई दुर्गम गाउँहरूमा स्वास्थ्य सेवा र यातायात पहुँच सुधार्न विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।

हाल निर्मला देवी बुढाको कानाचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ। यद्यपि, नियमित उपचारका लागि उनलाई राम्रो अस्पतालमा लैजानुपर्ने देखिएको छ। स्थानीयहरू अहिले पनि उनको स्वास्थ्य अवस्थाप्रति चिन्तित छन् र सरकारले यस्तो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरिरहेका छन्।