Skip to main content

खुटिया खोलामा हराएका बालकको शव फेला

Submitted by editor on
ईबिगुल संवाददाता
बालक

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका हराएका एक बालकको खुटिया खोलामा शव फेला परेको छ।

आइतवार गोदावरी नगरपालिका–९ बल्मीका पुष्पराज जोशीका ११ वर्षीय छोरा दीपेन्द्र जोशी हराएका थिए। दिउँसो १२ बजे घरबाट खाना खाएर निस्केका दीपेन्द्र घर नफर्किएपछि नदीमा बगेको आशंका गरिएको थियो। बालक हराएपछि खोजी गर्ने क्रममा राति बेपत्ता भएका बालकका साथी ११ वर्षीय पारस धामीले ३ जना खुटिया खोलामा नुहाउन गएको र नुहाउने क्रममा दीपेन्द्र हराएको प्रहरीलाई बयान दिएका थिए।

सोही आधारमा खोजी गर्दा सोमवार बिहान बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए। उनका अनुसार हराएका बालक सँगै ३ बालक खुटिया खोलामा नुहाउन गएका थिए। नुहाउने क्रममा दीपेन्द्र हराएका थिए। प्रहरीले आइतवार राति नै बालक बगेको स्थानमा चप्पल फेला पारेको थियो।