बैतडी : कृषि अनुदान दुरुपयोग हुन थालेपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा किसानको दैलोमै पुगेर गुनासो सुन्न थाल्नुभएको छ । बिहीबार बैतडी पुग्नुभएका कृषि मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधि र अगुवा किसानसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।
भ्रमणका क्रममा उहाँले बैतडी सदरमुकामस्थित जगन्नाथ तरकारी सङ्कन केन्द्रको अवलोकन गर्नुभयो । साथै उहाँले देहिमाडौंका किसानलाई दुग्ध व्यवसाय गर्न फ्रिज लगायतका उपकरण वितरण र ग्वाल्लेकमा बाख्रा फार्मको अवलोकनसमेत गर्नुभयो ।
मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा वार्षिक दुई अर्ब ९१ करोड रुपियाँ बजेट खर्च गरिरहेको भए पनि खाद्यान्न, तरकारी, फलफूल, अण्डा र मासुमा आत्मनिर्भर बन्न नसकिएको मन्त्री थापाले बताउनुभयो । उहाँले कृषि अनुदान दुरुपयोग हुन थालेपछि आगामी वर्षदेखि अनुदान शून्य पारेर किसानहरुलाई ब्याजमा अनुदान दिने नीति बनाउने स्पष्ट पार्नुभयो ।
उहाँले प्रदेशका पहाडी जिल्लाको कृषि र पशु पालनको अवस्था अवलोकन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनुदानको नाममा काम नगरी पैसा खाने प्रवृत्ति बढ्यो । अब अनुदान होइन, किसानहरुलाई ब्याजमा अनुदान दिने तयारी भइरहेकोे छ ।”
प्रदेश सरकारबाट यो वर्ष बैतडीमा भैंसी प्रवर्धनका लागि ५० लाख रुपियाँको कार्यक्रम आए पनि बिचौलियाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका कार्यालय प्रमखु गुमानीदत्त पन्तले गुनासो राख्नुभएको छ । बैतडी जिल्ला मासुमा आत्मनिर्भर भए पनि अण्डा भने बाहिर जिल्लाबाट आयात हुने गरेको छ । यो वर्ष पशुपालनका लागि बैतडीमा आठ करोड ५६ लाख रुपियाँ खर्च हुँदै छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दको तथ्याङ्क अनुसार एक लख २४ हजार गाईरगोरु, ५४ हजार राँगारभैंसी, एक लाख ३६ हजार बोका÷बाख्रा, ६२ हजार स्थानीय जातका र ४७ हजार उन्नत कुखुरा रहेका छन् । यद्यपि प्रतिव्यक्तिलाई वार्षिक ६१ वटा अण्डा आवश्यक भए पनि प्रतिव्यक्ति एक अण्डा मात्रै उपलब्ध रहेको तथ्याङ्क छ ।
यसैगरी कृषि ज्ञान केन्द्रबाट यो वर्ष नौ करोड २५ लाख रुपियाँ खर्च हुने कार्यालय प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभयो । उहाँले कृषिको स्पष्ट तथ्याङ्क नभएकाले काम गर्न कठिनाइ भइरहेको गुनासो गर्नुभयो । जिल्लामा खाद्यान्न अपुग हुने भए पनि खोड्पे, देहिमाडौं र डिलासैनीको गन्ना क्षेत्र आलुमा आत्मनिर्भर रहेको उहाँले बताउनुभयो ।
बैतडीको कुल क्षेत्रफल एक लाख ४५ हजार ११३ हेक्टर क्षेत्रफलमध्ये ३१ हजार ४८५ हेक्र क्षेत्रफल (२१.६९ प्रतिशत) मात्रै खेतीयोग्य जमिन रहेको छ । खेतीयोग्य जमिनमध्ये ५१ प्रतिशतमा मात्रै सिँचाइ सुविधा छ । ८८ प्रतिश जनसङ्ख्या खेतीमा निर्भर भए पनि बैतडीमा वार्षिक १६ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको छ ।