Skip to main content

धनगढीको एक विद्यालय संकटमा जस्मा शिक्षक बढी, विद्यार्थी थोरै र नतिजा शून्य

Submitted by editor on
ईबिगुल संवाददाता
 विद्यालय

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयमा ११ जना शिक्षकले जम्मा ३३ जना विद्यार्थीलाई पढाइरहेका छन्। शिक्षक र विद्यार्थीको अनुपात हेर्दा एक शिक्षकलाई तीन विद्यार्थी मात्र पर्न आएको छ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद फुलाराका अनुसार, सन् २०३७ मा स्थापना भएको यो सामुदायिक विद्यालयमा पछिल्ला १० वर्षयताकै सबैभन्दा न्यून विद्यार्थी सङ्ख्या यो शैक्षिक सत्रमा रहेको छ। विद्यार्थीको चाप घटेसँगै गत वर्ष कक्षा १० सम्म सञ्चालन हुँदै आएको विद्यालय कक्षा ८ सम्म सीमित गरिएको थियो। यस वर्ष अझै विद्यार्थी घटेसँगै विद्यालयको अस्तित्व नै संकटमा परेको प्रधानाध्यापक फुलाराको भनाइ छ।

संरचना राम्रो, विद्यार्थी छैनन्

राना समुदायका बालबालिका पढ्ने यो विद्यालयमा भवन, खेलमैदान र अन्य भौतिक संरचना सन्तोषजनक छन्। शिक्षकको पनि कुनै अभाव छैन। प्राथमिक तहमा ४ जना स्थायी, २ जना राहत शिक्षक छन्। बालविकासका लागि २ जना शिक्षक र निम्न माध्यमिक तहमा २ जना राहत शिक्षक कार्यरत छन्। साथै, १ जना स्वयंसेवक शिक्षक पनि छन्।

तर, विद्यार्थी सङ्ख्या घटेसँगै अधिकांश शिक्षकहरू विद्यालयमा हाजिर गर्ने मात्र गरेको र पठनपाठनमा समर्पित नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनराज भट्टको आरोप छ। ‘शिक्षकहरूमा सहकार्यको अभाव छ। आपसी मनोमालिन्यका कारण पठनपाठनमा असर परेको छ,’ अध्यक्ष भट्टले भने, ‘शिक्षकहरूको गैरजिम्मेवारीले गर्दा अभिभावकहरूले आफ्ना छोराछोरीलाई अन्य विद्यालयमा भर्ना गरिरहेका छन्।’

स्थानीयको आकर्षण अन्य विद्यालयमा

राजपुर क्षेत्रका अभिभावकहरूले पठनपाठनमा चासो नलिएको भन्दै गेटाको सरस्वती माध्यमिक विद्यालय, बोराडाँडीको त्रिभुवन माध्यमिक विद्यालय तथा कैलाली गाउँकै जनता राष्ट्रिय माध्यमिक विद्यालयमा बालबालिका पठाउन थालेका छन्।

व्यवस्थापनमा राजनीतिक प्रभाव

विद्यालय व्यवस्थापन समितिमा राना समुदायको प्रतिनिधित्व नहुँदा समुदायकै अभिभावकहरू टाढिएको प्रधानाध्यापक फुलाराको भनाइ छ। ‘विगत १० वर्षदेखि समितिमा रानाहरूलाई उपेक्षा गरिँदै आएको छ। त्यसैले समुदाय नै विद्यालयप्रति निराश छ,’ उनले भने।

कक्षा ८ मा शून्य नतिजा, प्रयोगात्मकमै फेल

शैक्षिक सत्र २०८१ मा विद्यालयको कक्षा ८ का ८ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए। तर, सबैको नतिजा शून्य आएको छ। विशेषगरी, अनिवार्य गणितमा तीन जना विद्यार्थीलाई प्रयोगात्मक परीक्षामै ‘एनजी’ ग्रेड दिइएको छ, जुन सामान्यतः दिइँदैन। गणित शिक्षक अमरबहादुर बोहराले त्रुटिवश ‘एनजी’ आएको स्वीकार्दै अंक सच्याउने प्रक्रिया अघि बढाइने जानकारी दिए।

कुन कक्षामा कति विद्यार्थीरु

शैक्षिक सत्र २०८२ मा विद्यालयमा जम्मा ३३ जना विद्यार्थीले नाम दर्ता गराएका छन्।

बालविकास : २ जना

कक्षा १ र २ : १/१ जना

कक्षा ३ र ४ : २/२ जना

कक्षा ५:३ जनाकक्षा ६: १० जना

कक्षा ७ : ७ जना

कक्षा ८ :विद्यालयको इमिस प्रणालीमा मात्र १५ जनाको विवरण प्रविष्ट गरिएको पाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरायो ध्यानाकर्षण

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले विद्यार्थी र शिक्षकको अनुपात नै नमिलेको विषयमा धनगढी उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

बुधबार रास्वपाका प्रदेश सहमहामन्त्री गणेश बोहरा ,प्रदेश सदस्य तथा महिला बिभाग प्रमुख जशु कुमारी भट्ट र कैलाली जिल्ला सभापती महेश कुमार चौधरीले नगर उपप्रमुख कन्दकला रानालाई भेटेर विद्यालयको अवस्थाको बारेमा ध्यानाकर्षण गराएका हुन् ।

सभापति चौधरीले उपप्रमुख रानालाई भेटेर विद्यालयमा विद्यार्थी संख्याअनुसार शिक्षकको अनुपात नमिलेको, राजनीतिक अखडाका कारण विद्यालय धरासायी बनेको पाइएकाले ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् 

रास्वपाले नजिकै रहेका अन्य विद्यालयमा उक्त विद्यालयलाई गाभेर शैक्षिक गुणस्तर अभिबृद्धि गर्न उपमहानगरपालिकालाई अनुरोध गरिएको जनाएको छ ।