Skip to main content

आज(मंगलबार )बाट देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने

Submitted by editor on
ईबिगुल संवाददाता
 यातायात सेवा सुचारु

धनगढी : सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमवार राति सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो।

सहमतिपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताए।

उनले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको जानकारी दिए। अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारे।

संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट टुङ्ग्याउने प्रतिबद्धता जनाएकाले मङ्गलवार अपराह्नसम्ममा सार्वजनिक सवारी साधन चल्न सक्ने बताए। राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक सवारी साधन बन्द गर्दै आन्दोलन गरेका थिए। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन्।

नियमावली स्थगित भएसँगै अब देशभर यातायात सेवा सुचारु हुने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पार्दै आएका छन् भने सोमवारदेखि देशभरका यातायात ठप्प पारेका छन्।