बैतडी : टनेलभित्र लटरम्म फलेका गोलभेडा अनि काक्रा । छुट्टाछुट्टै टनेलमा फरकफरक तरकारी र फलफूल फलेका छन् । दुई रोपनीमा फैलिएको यो जग्गामा कही काउली र बन्दा अनि करेला उब्जनी भइरहेको छ । केही खाली जमिनमा बन्दा लगाउन बेर्ना तयार भैसक्यो ।
यो हो बैतडीको पाटन नगरपालिका वडा नं ९ स्थित सरस्वती आधारभूत विद्यालयको सुन्दर करेसाबारी । यस विद्यालयले विगत ५ वर्षदेखि आफ्नै करेसाबारीमा व्यावसायिक तरकारी तथा फलफूल उब्जनी गरिरहेको छ ।
विद्यालयसँग रहेको २ रोपनी जमिनमा मौसमी तथा बेमौसमी तरकारी उत्पदान हुने गरेका छन् । बाह्रैमास उब्जनी भइरहने यहाका खेतहरुमा आजभोली गोलभेडा, तितेकरेला, काक्रा, आलु, बन्दा, भेडे खुर्सानी र किबी फलिरहेको छ । विद्यालयका अनुसार फलफूल तथा तरकारीबाट वार्षिक करिब एक लाख रुपैयासम्म आम्दानी हुने गरेको छ ।
‘मौसमी तथा बेमौसमी तरकारी र फलफूल फलाउने गरेका छौँ, वर्षमा एक लाखसम्म आम्दानी हुने गर्छ,’ विद्यालयका प्रद्यानाध्यापक केशवबहादुर चन्दले भने । विद्यालयको लागि स्थानीयहरुले उपलब्ध गराएको जमिनलाई सदुपयोग गरिरहेको प्रद्यानाध्यापक चन्दले बताए । जिवनरक्षा केन्द्रको प्राविधिक तथा आर्थिक सहयोगमा तरकारी उब्जनी गरिएको हो ।
विद्यालयले करेसाबारी तयार पारेर तरकारी तथा फलफूल उत्पादन गर्न थालेपछी विद्यार्थीहरूलाई व्यावसायीक शिक्षा प्रदान गर्न पनि सहज भएको शिक्षिका द्रोपती चन्दले बताइन् । स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरूलाई पनि करेसाबारी ल्याएर तरकारी खेती सम्बन्धी ज्ञानसीप प्रदान गरिदै आएको चन्दले बताइन् ।
‘विद्यालयले तरकारीका बेर्ना उत्पादन गरि प्रत्येक विद्यार्थीलाई १०÷१० ओटा बिरुवाहरू वितरण गरिन्छ । उनीहरूलाई घरमा लगेर अभिभावकको सहयोगमा उक्त बेर्ना लगाउन भन्छौँ’ शिक्षिका चन्दले भनिन । ‘त्यसपछि विद्यालयले अनुगमन गर्छ र उत्कृष्ट तरकारी उत्पादन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको छ ।’
विद्यालयको करेसाबारीमा आर्जन गरेको ज्ञान घर गएपछि व्यवहारिक रुपमा लागू समेत गर्ने गरेको शिक्षिका जयन्ती चन्दले बतईन । जीवन रक्षा केन्द्रले विद्यालयमा एक जना कृषि साहयक समेत नियुक्त गरेको छ । मौसमी तथा बेमौसमी तरकारी उत्पादनको लागि स्रोतसाधनको उपलब्धता रहेको र यस क्षेत्रमा फल्ने सबै खालका तरकारी उपज उत्पदान गरिने गरिएको कृषि सहायक गणेश सिंह भण्डारीले बताए ।
दिवाखाजामा आफ्नै करेसाबारीको तरकारी
विद्यालयको करेसाबारीमा उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरिदै आएको छ । बालबालिकाहरूलाई दिवाखाजामा अर्गानिक तरकारी खुवाउने गरिएको प्रधानाध्यपक चन्दले बताए । दिवाखाजाबाट बचेको तरकारी मात्रै बाहिर बिक्री गर्ने गरिएको गरिएको उनले बताए ।
बन्दा, काउली, काक्रा, गोलभेँडा भेडेखुर्सानी, आलु, रायो, पिडालु, धनिँया लगायतका मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन हुने गरेको छ । यस्तै किबि समेत उत्पादन गर्न थालेको विद्यालयले जनाएको छ । कक्षा १–५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ५१ विद्यार्थीहरु अध्ययनरत छन् ।