धनगढी : कैलालीको डिभिजन वन कार्यालय, धनगढीमा कार्यरत वरिष्ठ बन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैया घुससहित रंगेहात पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरबाट खटिएको विशेष टोलीले यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियार अनुसन्धान आयोगका केन्द्रिय प्रवक्ता राजेन्द्र कुमार पौडेलले आज विज्ञप्ती प्रकाशित गर्दै यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वन अन्तर्गतको घाटगद्दी गरिएको काठको बिमर्का र छोडपूर्जी उपलब्ध गराउने सन्दर्भमा सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा रंगेहात पक्राउ गरिएको जनाएको छ ।
उजुरी पछि अख्तियारको टोली सोमबार विहानै देखि उनको खोजीमा खटिएको थियो । उनलाई सोमबार अपरान्ह डिभिजन वन कार्यालय धनगढी परिसरमै घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउपछि यादवलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।
यादव लामो समयदेखि कैलालीमै कार्यरत थिए । उनको अरु कार्यालयहरुमा खासै सरुवा हुने गरेको थिएन । बनमा आउने नयाँ डिएफओलाई उनै यादवले चलाउने गरेका थिए ।
घटनासँग सम्बन्धित थप प्रमाण संकलन, संलग्न पक्षहरूको खोजी तथा कानुनी प्रक्रिया सुरु गर्न आयोगको टोली क्रियाशील रहेको जनाईएको छ ।