Skip to main content

कैलाली कारागार घटना : आन्तरिक स्रोतमाथिको कब्जाका लागि रक्तपात

Submitted by editor on
कारागारमा हरेक असार मसान्तभीत्र चौकीदार, नाईके र सहनाईके नविकरण गरिसक्ने कानुनी प्रावधान छ । तर असारको २८ गते देखि नै त्यही विषयमा विवाद चुलिएपछि कैलाली कारागारमा चौकीदार, नाईके र सह नाईकेको नविकरण हुन सकेको थिएन
शिवराज भट्ट
कैलाली कारागार

धनगढी : कैलाली कारागारमा शुक्रबार मध्यराती झडप भयो । ब्लक ए र बी का कैदीबन्दीहरुबीच भएको झडपमा एक जना कैदीको मृत्यु भयो भने ४९ जना गम्भीर घाईते भए । झडपमा लागुपदार्थ सम्बन्धि मुद्धामा जेल सजाय काटिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ३६ वर्षका भरत चौधरीको मृत्युभयो ।

चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तहरुले जेलमा समेत सुरक्षा नभएको भन्दै न्यायीक छानबीन नहुँदासम्म शव नबुझ्ने बताएका छन । घाईते मध्ये गम्भिर २ जना कैलालीको गोदावरी २ का आयुश भट्ट र कैलालीकै मोहन्याल गाउपालिका ३ का कर्ण सलामीमगर लाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । आयुश भट्ट लागुपदार्थ सम्बन्धी मुद्धा र सलामीमगर बलात्कार मुद्धाका कैदी हुन ।

भट्टलाई नेपाली सेनाको स्काई ट्रक मार्फत शनिबार बेलुकी नै काठमाण्डौं लगिएको छ भने अर्का कैदी कर्ण सलामीमगरलाई आईतबार अपरान्ह जहाजबाट काठमाण्डौं रेफर गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले दुबै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाण्डौं पठाईएको बताए ।

स्रोतमाथि कब्जाकालागि झडप
कैलाली कारागारको क्षमता १५० जना कैदी हो । तर त्यहाँ ७ जना कैदी राखिएका छन । बढी कैदी हुनु भनेको कारागारको आन्तरिक प्रशासनको स्रोत पनि बढी हुनु हो । कारागारभीत्र दुई वटा प्रशासन हुनेगर्छ । एउटा  प्रशासन भनेको सरकारी प्रशासन अथवा कारागार प्रशासन । त्यसले हरेक कैदीलाई दैनिक ८० रुपैयाका दरले नगदै दिन्छ भने सिदाका रुपमा ७ सय ग्राम चामल दिन्छ । सरकारले दिने भनेको स्रोत यत्ती मात्र हो ।

तर कारागारमा रहेका कैदीबन्दीका लागि बनाईने तरकारी, नास्ताको सामान, त्यसलाई पकाउने ग्यास, दैनिक प्रयोग हुने साबुन, सोडा सहितका दैनिक उपभोग्य सामानको विक्रि आन्तरिक प्रशासन अन्तर्गत  पर्छ । कारागारभीत्र पसल राख्न सक्ने, पसल चलाउन सक्ने नास्ताको सामान राख्न पाउने कानूनमै प्रावधान छ । स्रोत भन्छ, ‘कैलाली कारागारभीत्र ब्यापार (पसल) गर्नेले मासिक पाँच लाख भन्दा बढी  कमाउछ । हो त्यही स्रोतमा कब्जाका लागि झडप भएको हो ।’

कारागार ऐनमा हरेक २५ जना कैदी बराबर एकजना नाईके नियुक्त गर्न पाउने प्रावधान छ भने हरेक १० जना बराबर सहनाईके राख्न सक्ने प्रावधान छ । अझ त्यो भन्दा पनि माथि एक ब्लकमा एकजना चौकीदार पनि नियुक्त गर्न पाउने प्रावधान छ । 

कैलाली कारागारमा लामो समयदेखि परसुराम राना चौकीदारका रुपमा छन भने २२ जना नाईके र ५७ जना सह नाईके छन । राम्रो चरित्र भएका केही नाईके र चौकीदारले बजारमा जाने, बजारबाट सामान किनेर ल्याउने र कैदीबन्दीहरुलाई विक्रि गर्ने गर्छन । ‘त्यही स्रोतका लागि लामो समयदेखि झडप भईरहेको थियो । यस अघिका झडपहरुलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयले पनि सामान्य रुपमा लियो, फलस्वरुय यत्रो ठूलो घटना भयो’ एकजना सुरक्षाअधिकारीले भने ।

कारागारमा हरेक असार मसान्तभीत्र चौकीदार, नाईके र सहनाईके नविकरण गरिसक्ने कानुनी प्रावधान छ । तर असारको २८ गते देखि नै त्यही विषयमा विवाद चुलिएपछि कैलाली कारागारमा चौकीदार, नाईके र सह नाईकेको नविकरण हुन सकेको थिएन । ‘असार भीत्र चौकीदार, नाईके, सह नाइके सबैको नविकरण गर्नुपर्ने प्रावधान छ तर कैलालीमा विवादका कारण त्यो नभएको रहेछ’ नयाँ आएका कारागार ब्यवस्थापन विभागका प्रतिनिधि जालान्धर भुषालले भने ।

पछिल्लो केही समय यता कैलालीको भुपेन्द्र बडुवाल हत्याकाण्ड, भजनीको खुकुरी प्रहार गरी गरिएको हत्याकाण्ड सहितका केही गुण्डा नाईकेहरु पनि कैलाली कारागार ल्याइएका थिए । पहिले देखि नै कारागारको आन्तरिक प्रशासन चलाई रहेकाहरु माथि नयाँ आएकाहरुले स्रोतमाथि कब्जा गर्न खोजेपछि पटक पटक झडप भएको स्रोतले बताएको छ ।

भुपेन्द्र बडुवाल हत्याकाण्डका नाईके भनिएका कैलालीको लम्कीका ‘नन्दु सरकार’ भनिने नविन रावल र जयन्द्र शाहको समूहका बीचमा लामो समयदेखि विवाद चलिरहेको थियो । सुरक्षा स्रोतका अनुसार यी दुई  समूह लम्की टीकापुर क्षेत्रमा गुण्डागर्दीमा संलग्न समूूह हुन । उनीहरु हत्या हिंसा, ठेक्का पट्टा मिलाउने देखि अवैध असुलीमा संलग्न थिए ।

यो समूहले चार पाँच वर्ष पहिला चक्रे मिलनलाई बोलाएर चिसापानीमा जन्मदिन बनाएको पनि सार्वजनिक भएको थियो । यीदुई समूहबीच दुस्मनी बढदै गएको थियो । भुपेन्द्र बडुवालको हत्यापछि नविन सहितका धेरै जना पक्राउ परेर कारागार पुगाईएका थिए । कारागारको आन्तरिक स्रोतमा कब्जा जमाउन खोजेका नविन रावल सहितका १२ जनाको कारागार प्रशासनले अन्यत्र सुरुवा गरेपछि उनकै समूह आफुलाई कमजोर पारेको भन्दै कारागारमा उपद्रव मच्चाउदै आएको स्रोतले जनाएको छ ।

४० घण्टापछि कारागार प्रशासनको नियन्त्रणमा
शुक्रबार मध्यराती भएको घटना पछि कैदीबन्दीहरुले कारागारभीत्र प्रशासनीक अधिकारीहरुलाई प्रवेशमा रोक लगापछि अवस्था तनावपूर्ण बनिरहेको थियो । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल र एसपी बालनरसिह राणा सँग कैदीबन्दीहरु रुष्ट थिए । प्रमुख जिल्ला अधिकारी र एसपीको टोलीले पनि घटना भएपछि कारागारभीत्र (घटना भएको स्थान) को अनुगमन गर्न पाएका थिएनन । 

कैदीबन्दीहरुले सिलेन्डरहरु पडकाई दिने भन्दै प्रदेशद्धारमा ग्यासका सिलेन्डर राखेका र भीत्रबाट छुट्टै ताला लगाएपछि प्रशासनले कारागारभीत्र प्रवेश गर्न सकेको थिएन । प्रशासनीक अधिकारीहरुले कारागारभीत्र पस्न नपाएपछि अझै घाईतेहरु हुनसक्ने, मृतकहरु भीत्रै हुनसक्ने भन्दै हल्ला चलेपछि अवस्था तनावपूर्ण बनेको थियो ।

तर कारागार ब्यवस्थापन विभागले शनिबार बेलुकी नै हाजिर हुनेगरी विभागको प्रतिनिधिका रुपमा बाँकेको नौबस्ता कारागारका कारागार प्रशासक जालान्धर भुषाललाई कैलाली कारागार पठाएपछि आईतबार राष्टिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका पदाधीकारीहरुको रहोबरमा कैदीबन्दीको गणना पनि गरिएको छ ।

कैलाली कारागारमा रहेका ७ सय कैदीबन्दी मध्ये एकको मृत्यु भएको, ४९ जना घाईते उपचारमा रहेको र बाँकी ६५० जना कैदीबन्दी कारागारमै रहेको कारागार प्रशासनले जनाएको छ । ‘घटना भएको दिनदेखि कैदीबन्दी गणना पनि रोकिएको रहेछ, आईतबार अपरान्ह हामीले सौहार्दपूर्ण रुपमा कैदीबन्दी गणना गरेका छौं । कारागारभीत्रका सबै कैदीबन्दीको अवस्था सामान्य रहेको छ’ नयाँ आएका कारागार ब्यवस्थापन विभागका प्रतिनिधि जालान्धर भुषालले भने ।

झडप भएको ४० घण्टापछि मात्रै कारागार प्रशासन र मानवअधिकारकर्मीको टोली कारागारभीत्र (घटनास्थल) पसेको हो । ‘आईतबारदेखि अवस्था सामान्य भईरहेको छ । कैदीबन्दीहरुले खाना बनाएर खाएका छन । दैनिकजसो हुने नियमीत कामहरु पनि गरेका छन’ राष्टिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाश दत्त भट्टले भने ।

छानविन समितिको प्रतिवेदनको प्रतिक्षा
हुन त कैलाली जिल्ला सुरक्षा समितिले कारागार घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्टिय अनुसन्धान विभागका डिएसपी र प्रशाकीय अधिकृत रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । छानविन समितिले आईतबार देखि छानविन सुरु गरिसकेको छ । समितिलाई १० दिनभीत्र प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

छानबीन समितिले पनि कारागारभीत्र जान सकेको छैन । समितिले कारागारमा अझै अवस्था सामान्य नभएकाले सेती प्रादेशीक अस्पतालमा रहेका घाईतेहरुको बयान लिन सुरु गरेको छ । कोरोनाका बेला बनाईएको सेती प्रादेशीक अस्पतालको नयाँ भवनमा घाइतेहरुको उपचार भईरहेको छ ।

आईतबार देखि अवस्था सामान्य बन्दै
कारागार ब्यवस्थापन विभागले आफ्नो प्रतिनिधिका रुपमा जालान्धर भुषाललाई पठाएपछि आईतबारदेखि कारागारको अवस्था सामान्य बन्दै गएको छ । भुषालले आउने वित्तिकै कारागारभीत्र रहेका कैदी बन्दीका आफन्तहरुलाई भेटघाट सुरुवात गराएका थिए ।

उनले अस्पतालमा उपचार गराईरहेका कैदीबन्दीका आफन्तहरुलाई पनि भेटने ब्यवस्था मिलाएका थिए । घटना पछि प्रशासनले कारागारमा हुने दैनिक भेटघाटमा रोक लगाएको थियो भने अस्पतालमा पनि आफन्तलाई भेटघाट नै गर्न बन्द गरेको थियो । आफन्तको अवस्था थाहा नभएपछि परिवारका सदस्यहरु समस्यामा परेका थिए । 

भुषालले कारागार भीत्र रहेका नाईके, आन्तरिक प्रशासन चलाउन सक्ने कैदीबन्दीहरुको समुहसँग भेटघाट र छलफल गरेको बताए । ‘उनीहरुसँग मैले पालैपालो भेटे, छलफल गरे । उनीहरु सबै सकारात्मक छन । धेरैमा स्थानान्तरण गरि दिने हुन की भन्ने डर देखियो । मैले त्यसो हुन्न नडराउन भने । उनीहरुमा प्रहरीले कतै अन्तै लैजाने हो की भन्ने डर रहेको बताए । मैले त्यो पनि केही हुन्न भनेपछि अवस्था सामन्य भएको छ’ भुषालले भने ।

उनले कारागार र अस्पतालमा रहेका कैदी बन्दीका आफन्तहरुलाई भेटघाट गर्न दिएपछि आधार समस्या आफै समाधान भएको बताए । ‘परिवारका सदस्यलाई आफ्नो सदस्यको अवस्था जान्न पाउने अधिकार छ । उनीहरुले भेट पाएपछि सबै ढुक्क भएर जान्छन’ भुषालले भने । 

जीमखाना बन्यो रणभूमीको माध्यम
कैदीबन्दीहरुको ब्यायामका लागि कारागार प्रशासनले एकवर्ष अधि कारागारभीत्रै जीमखाना राखेको थियो ।  कारागार ऐनमै कैदीबन्दीहरुको ब्यायाम, उनीहरुको मनोरञ्जनका लागि ब्यवस्था गर्नुपर्ने प्रावधान छ । शुक्रबार कारागारभीत्रको पुरै जीमखाना उप्काइएको छ । जीमखानाकै रडहरुले एकापसमा झडप भएको स्रोतले बतायो ।