Skip to main content

पर्यटकीय स्थलमा सुदूरपश्चिम पप्रदेश सरकारको लगानी

Submitted by editor on
ईबिगुल संवाददाता
वाटिका

धनगढी: पछिल्लो समय टिकटक र भिडियोमार्फत चर्चा बटुल्दै आन्तरिक पर्यटकको आर्कषण र गन्तव्य बनेका कैलालीका पर्यटकीय क्षेत्र प्रदेश सरकारको अनुदानपछि व्यवस्थित बन्दै छन् । कैलालीको मोहन्याल गाउँपालिकामा रहेको आमपानी झरनामा आन्तरिक पर्यटक वनभोज खान र गर्मी छल्न जाने गर्छन् । कोरोना सङ्क्रमणपछि चर्चामा रहेको आमपानीलाई व्यवस्थित गर्न सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत झरनाको पूर्वाधार निर्माणमा सहयोग गरिएको छ । पदमार्ग र धेरैले नुहाउन मिल्ने झरनाको जग निर्माणका लागि ३६ लाख रुपियाँ खर्च गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहोराले बताए ।  आमपानीको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मा सामुदायिक वन उपभोक्ता समितिको छ ।

बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही भन्छन, “यो ठाउँ पहिले पनि प्रकृतिप्रेमीका लागि लोकप्रिय थियो, झरना पूर्वाधार निर्माणपछि भने आन्तरिक पर्यटकको सङ्ख्या झनै बढेको छ ।” त्यस्तै कैलालीको गौरीगङ्गा नगरपालिका–१, चौमालामा रहेको मोहन्याल धार्मिक वनक्षेत्रभित्र नक्षत्र वाटिका निर्माण गरिएको छ । प्राकृतिक सौन्दर्य र मौलिक धार्मिक संस्कृति जोगाउने उद्देश्यले वाटिका निर्माण गरिएको हो । एकाइ प्रमुख बोहराले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २५ लाख रुपियाँ लागतमा नक्षत्र वाटिका निर्माण भएको जनाए । वन उपभोक्ता समितिमार्फत सो वाटिका निर्माण गरिएको हो । वास्तुशास्त्र अनुसार नौ ग्रह, १२ राशि र २७ नक्षत्रको सन्तुलन मिलाएर वाटिका निर्माण गरिएको उहाँको भनाइ छ । पूर्वीय दर्शन अनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा २७ नक्षत्र अनुसारका २७ प्रजातिका बिरुवा पनि रोपिएको उनले जानकारी दिए ।

वाटिकामा २७ नक्षत्र अनुसारका अमला, शमी, जामुन, आँक, बाँस, मौलश्री, रिट्ठो, पलाँस, डुम्री, सिसौ, पिपल, नागकेशरी, वर, बेल, अर्जुन, कङ्केरो, सिमल, राजवृक्ष, कटहर, कदम, आँप, निम, केरा, महुवा, खयर, लहरे पिपल र बेत गरी २७ प्रजातिका बिरुवा रोपिएको उपभोक्ता समितिका सदस्य धर्म सारूमगरले बताए। त्यसैगरी प्रदेश सरकारको सहयोग अनुदानमा आर्थिक वर्ष २०८१/८२ मा एक करोड ४२ लाख रुपियाँमा बेहडबाबा मन्दिर क्षेत्रमा प्यागोडा शैलीमा मन्दिर निर्माण भएकोसमेत प्रमुख बोहराले जानकारी दिए । उनका अनुसार अत्तरियामा सात लाख रुपियाँमा बाह्रसिङ्गाको मूर्ति निर्माण, भादा, नुक्लीपुरलगायत होमस्टेमा सामुदायिक भवन, गेस्ट हाउस निर्माणका लागि समेत प्रदेश सरकारले सहयोग गरेको छ ।