Skip to main content

घर–घरको चहलपहल हराउँदै, प्यालेस र होटलमा सर्‍यो तीज

Submitted by editor on
ईबिगुल संवाददाता
तीज

धनगढी : हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको  रौनक चौतर्फि छ । सुनचाँदी पसलदेखि साडी–सुट, कस्मेटिकदेखि बुटिकसम्म ग्राहकको चहलपहल बढेको छ  । तीजको मौसममा पार्टी प्यालेसहरुमा दैनिक जसो कार्यक्रम भईरहेका छन् । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले समेत तीजको दर खाने कार्यक्रम दिनहुँ भईरहेका छन् ।  

केहि बर्ष यता तीज मनाउने प्रवृत्ति फेरिएको छ । गाउँ सहरमा चोकमा नाचगान हुने कार्यक्रम हरु होटल प्यालेस  तिर सरेका छन् । पहिले तीज नजिकिँदा घर–घरमा तयारी, गीत–संगीत र सामूहिक नाचगानले गाउँबस्ती गुञ्जायमान हुन्थ्यो । तर अहिले त्यो परम्परा क्रमशः हराउँदै गएको छ । अब तीजको चहलपहल घर आँगनमा नभई होटल–रेस्टुरेन्टका हलमा सरेको देखिन्छ ।

धनगढी पुष्पलाल चोककी ६० वर्षीया बेलु बैस्य तीजको मौलिकता हराउँदै गएकोमा दुःख व्यक्त गर्छिन् । भन्छिन्, ‘हाम्रो पालामा सबै दिदी–बैनी स्कुलको मैदान वा ठूलो चौरमा भेला भई नाचगान गर्थ्यौं । अहिले भने तीज मनाउन होटलमा कार्यक्रम हुन्छ । पहिलेको जस्तो रौनक हराएको छ, बरु बेथिति मात्र बढेको छ ।’ बैस्यका अनुसार पहिले तीज दिदी–बहिनीबीच भेटघाट, दुख–सुख साटासाट र आत्मीयता बाँड्ने अवसर हो । तर अहिले त्यो संस्कार पनि बदलिँदै गएको उनले बताइन् । ‘पहिला दिदी–बैनी भेट हुँदा दुख–सुखका कुरा हुन्थे । अहिले त भेटघाट हुँदा कसले कति गहना लगायो, कसले कति महँगो सारी लगायो भन्ने मात्र हुन्छ । तीजलाई देखासिकी र प्रतिस्पर्धाको पर्व बनाइयो,’ बैस्य भन्छिन् ।

तीज मनाउने मौलिकता फेरिए पनि व्यापार भने यसपाली फस्टाउन सकेको छैन । धनगढीको हुलाकरोडस्थित न्यू पशुपति सुनचाँदी गहना पसलका सञ्चालक विवेक सोप सुनचाँदी खपत हुने मुख्य सिजनमै व्यापार घटेको बताउँछन् । उनका अनुसार तीजको समयमा भरिभराउ हुने सुन पसलमा यो वर्ष छिटपुट ग्राहक मात्रै आउने गरेका छन् । ‘पहिले दैनिक भीड हुन्थ्यो ग्राहकको यो वर्ष निकै घटेको छ । अहिले सिजनमै दिनमा ६–७ जना ग्राहक मुस्किलले आउँछन् । सुनको मूल्य सुनेर ग्राहक तर्सन्छन्, अनलाइन व्यापारले पनि असर गरेको छ,’ उनले भने ।

अनलाइनमार्फत केही अर्डर आउने गरे पनि पसलमा खासै ग्राहक नआउने धनगढीका सुन व्यवसायीले सुनाए । सुन कारोबारमा आएको यो गिरावटको मुख्य कारण सुनमा लागेको विलासिता कर भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर बताउँछन् ।
पछिल्लो समय अनलाइन व्यापारले पनि भौतिक बजारलाई ठूलो चुनौती दिएको छ । ग्राहकले मोबाइलमार्फत सजिलै सामान हेरेर अर्डर गर्न थालेपछि पसलमा चहलपहल घट्न थालेको हो ।

धनगढी एलएनचोकस्थित सल्मा बुटिककी सञ्चालक सल्मा कुँवर बजारमा व्यापार सुस्ताउनुको प्रमुख कारण अनलाइन कारोबारलाई मान्छिन् । तीजको समयमा उच्च व्यापार हुने उनको बुटिक अहिले घाटामा छ । तीजका बेला पहिले दैनिक १ सय ५० सम्म ग्राहक आउने बुटिकमा अहिले २५–३० मात्र आउँछन् । त्यसमध्ये पनि हेर्ने बढी किन्ने कम । मासिक ८५ हजार सटर भाडा उठाउनै मुस्किल परेको उनले बताइन् ।
ग्राहकहरू बजार आउनुको सट्टा घरबाटै सपिङ गर्न थालेपछि व्यापार कम भएको उनले बताइन् । भरपर्दो अनलाइन माध्यमबाहेक अन्यमा ठगी हुने सम्भावना उच्च रहे पनि ग्राहकहरुले अनलाइन अर्डर नै गर्छन् । ‘अनलाइनमा देखाउने एउटा पठाउने अर्को हुन्छ, स्क्याम हुने सम्भावना पनि बढी हुन्छ । तर, ग्राहकले सजिलो ठानेर अनलाइन सपिङ नै गर्छन्,’ सल्मा भन्छिन् । उनको बुटिकमा पनि दिनमा ५–६ वटा अनलाइन अर्डर आउने गर्छ । भौतिक बजारलाई अनलाइनले ठूलो असर पारेको सबैजसो व्यापारी बताउँछन् ।

धनगढी बजारको व्यापार सुस्ताउनुको अर्को कारण खुला सीमा नाका पनि हो । धनगढीमा भारतीय सामान सजिलै प्रवेश हुन्छ । व्यापारीहरूका अनुसार भारतीय सामान सस्तो हुने तर गुणस्तरमा कमी हुने गर्छ । तर ग्राहकले सस्तो सामानलाई प्राथमिकता दिने हुँदा स्थानीय व्यापार प्रभावित भएको छ । सँगै भारतबाट सामान बोकेर आएका व्यापारी टोलटोलमै लगेर बेच्ने गरेको गुनासो एक व्यापारीले गरे । ‘हामीले भन्सार तिर्नुपर्छ, उनीहरूले सहजै टोलटोलमै सामान पुर्‍याउँछन् । त्यसको असर हामीलाई पर्छ,’ उनले सुनाए ।

धनगढीमा भारतीय बजार बनगौँवा र गौरीफन्टा र सुणा बजारको प्रत्यक्ष असर पर्ने गरेको छ । सस्तोमा पाइने कारण कैलाली, कञ्चनपुरका अधिकांश मानिस भारतीय बजार जाने गर्छन् । सीमाबाट १ सयभन्दा बढीको सामान ल्याए भन्सार लाग्ने भए पनि घर खर्चको लागि ल्याइने सामानको भन्सार शुल्क लिइँदैन । यसकारण राजश्व संकलन र स्थानीय बजार असर परेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष कुँवर बताउँछन् ।
यसलाई रोक्न सीमा नाकामा कडाइ गर्नुपर्ने उनले बताए । ‘एउटै मान्छेले घरखर्चका लागि भन्दै दिनमा दसौंपटक सामान ओसार्छ । उसलाई भन्सार लाग्दैन । व्यापारीका लागि कडा छ । यसले गर्दा मार्केटलाई असर परेको छ,’ उनले भने ।