धनगढी : कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि ५० जना चुनावी मैदानमा होमिएका छन् । भदौ २८ गते हुने नौ पदाधिकारी र १३ सदस्य गरेर २२ पदका लागि ५० जना चुनावी मैदानमा होमिएका हुन् ।
कैलाली उद्योग वाणिज्य संघको निर्वाचन समितिका अनुसार २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
संघको नयाँ नेतृत्वका लागि पुष्करराज ओझा र रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । स्वाँर पूर्वमहासचिव हुन भने ओझा वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
ओझाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमविक्रम विष्ट, उद्योग उपाध्यक्षमा वासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमार विष्टले उम्मेदवारी दिएका छन् । ओझाको प्यानलबाट १३ जनाले सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
रुपेश स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दले उम्मेदवारी दिएका छन् । स्वाँर प्यानलबाट पनि १३ जनाले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको तीन पदाधिकारीसहित ६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिवमा कोपिला कुँवरले स्वतन्त्र पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।