धनगढी : काठमाडौँ–धनगढी उडानमा न्यूनतम मूल्यका हवाइ टीकट पाउन छोडेपछि यात्रु मारमा परेका छन् । केही दिनयता विमान कम्पनीहरुले अधिकतम मूल्यका टीकट मात्रै बिक्री गर्दै आएका छन् । सामान्यतया साढे सात हजार रुपैयाँसम्ममा पाइने यो रुटका टीकट अहिले न्यूनतम १२ हजारभन्दा कममा उपलब्ध छैनन् ।
शुक्रबार भोलिका लागि काठमाडौँ–धनगढी उडानमा अनलाइनमार्फत १४ हजार ३ सय रुपैयाँमा मात्र केही सिट देखिएको छ भने अधिकांश टीकट १६ हजार ७८९ रुपैयाँमै बिक्रीमा छन् । धनगढी–काठमाडौँ फर्किने उडानमा भने अधिकांश टीकट ६ हजार ८९८ रुपैयाँमा कायम गरिएको छ । काठमाडौँ–धनगढी रुटमा अहिले २–३ दिन पछिसम्म पनि १२ हजारभन्दा कम मूल्यको टीकट अनलाइनमा देखिएको छैन ।
जेन–जी आन्दोलनका कारण देशभर कफ्र्यु आदेश र यातायातका साधन बन्द भएपछि र चाडपर्व नजिकिँदै यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले न्यूनतम मूल्य हटाएर अधिकतम मूल्यका टीकट मात्रै बिक्री गर्न थालेको यात्रुको आरोप छ ।
धनगढी विमानस्थल प्रमुख बालकुमार सिंहका अनुसार अहिले काठमाडौँ–धनगढी दैनिक आठ उडान भइरहेका छन् । तीमध्ये श्री एयरलाइन्सले छ र बुद्ध एयरले दुई उडान भर्दै आएका छन् । श्री एयरलाइन्सले आफ्नो एउटा विमान राति धनगढी विमानस्थलमै राख्ने गरेको छ । काठमाडौँसँग सिधा उडान हुने सुदूरपश्चिमको यो एक मात्र विमानस्थल हो ।