Skip to main content

सुदूरपश्चिमका कृषिमन्त्री रामेश्वर चौधरी, जो एक पटक पनि पहाडि जिल्ला गएनन

Submitted by editor on
शिवराज भट्ट
कृषि तथा सहकारी मन्त्री

धनगढी : रामेश्वर चौधरी नागरिक उन्मुुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिमको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री छन । उनले २०८० सालको साउन १७ गते प्रदेश सरकारको मन्त्री पदको सपथ लिएर पदभार ग्रहण गरे । 

तर मन्त्री भएको ७ महिना भन्दा बढीको समयमा उनले एक पटक पनि सुदूरपश्चिमका पहाडि जिल्लाको भ्रमण गरेनन । भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्यांक अनुसार उनले सात महिनाको अवधीमा ५ पटक संघीय राजधानी काठमाण्डौंको सयर गरेका छन । 
साउन र भदौंमा त उनी २/२ पटक काठमाण्डौं गएका छन । साउनको १२ गते र २५ गते तथा भदौको १३ र २८ गते गरी उनी २/२ पटक काठमाण्डौं गएका हुन । उनले साउन यताको कार्यकाल भरी ५ पटक संघीय राजधानी गएको जहाजको टिकट र भाडा बाफतको ९२ हजार रकम बुुझेका छन ।  

मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुस्मीले दिएको तथ्यांक अनुसार मन्त्री चौधरीले तीन/तीन पटक बाँके र बर्दियाको भ्रमण गरेका छन । त्यस बाफत उनले ४४ हजार भन्दा बढी भ्रमण भत्ता बुुझेका छन । 

तर अचम्म लाग्दो कुरा के छ भने मन्त्री चौधरीले ७ महिना ४ दिनको शनिबारसम्मको कार्यकालयभरी एक पटक पनि सुदूरपश्चिमका  ७ पहाडि जिल्लाको भ्रमण गरेको देखिएन । मन्त्री चौधरीले लुम्बीनि प्रदेशको तीन/तीन पटक भ्रमण गरे, कैलाली र कञ्चनपुरका पाँच पटक भ्रमण गरे । तर उनी एक पटक पनि पहाडका जिल्ला गएनन ।

प्रदेश सभा सदस्य डाक्टर तारा प्रसाद जोशी भन्छन, ‘सरकारका मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भए । उनीहरुमा म प्रदेशको मन्त्री हुँ भन्ने भावना नै आउन सकेन । प्रदेशको कृषि मन्त्रीले साच्चै पहाडि जिल्लाको भ्रमण नगरेका हुन भने उनले कसरी आफ्नो मन्त्रालयको सफल योजना बनाउन सक्छन ?’

सुदूरपश्चिमका पहाडि जिल्लामा अथाह सम्भावना छ । त्यहाँको पलायन तराई तिर बढदो क्रममा छ । जुन कुरा तराईका लागि पनि चुनौतीको विषय बन्दै गएको छ । ‘प्रदेश सरकारले त्यो पलायत रोक्ने योजना भुुगोलमै गएर अध्ययन गरेन भने कसरी नीतिहरु बन्छन ?’ प्रदेश सभा सदस्य जोशीले भने ।

प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिह रावल त अहिलको सरकार कुहीरोको कागज जस्तै लक्ष्यविहिन भएको आरोप लगाउछन । ‘कुरा कृषि मन्त्रीको मात्रै होईन, प्रदेश सरकारका मन्त्रीहरुको संघीय राजधानी मोह हेर्नुस त, लाज लाग्ने छ । आफुनो प्रदेशमा होईन, पावर सेन्टरमा धाउनमा राज्यको ढुकुटी सक्दैछन’ रावलले भने । 

यस बारेमा प्रदेशका कृषिमन्त्री रामेश्वर चौधरीले प्रतिक्रिया दिन चाहेनन । ‘म एउटा कार्यक्रममा छु, पछि फोन गर्छु’ प्रतिक्रया माग्दा उनको जवाफ यस्तो थियो ।