धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् ।
पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो ।
लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर कसैले पनि अध्यक्ष रञ्जीताले दिएको निर्देशन मानेनन । नागरिक उन्मुक्ति पार्टीका ७ मध्ये ५ सांसद प्रदेश सरकारमा छन् ।
रञ्जीता पक्षका मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए । श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरुलाई भने कारबाही गरेकी छैनन् । उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन् ।