Skip to main content

लक्ष्मणकिशोरको दाबी ‘मंगलबार म मुख्यमन्त्री बन्छु’

Submitted by editor on
शिवराज भट्ट
लक्ष्मणकिशोर भन्छन, ‘भोली म मुख्यमन्त्री हुन्छु’

दुई वटा दाबी पेश भए, यस्तो किन ?
–होईन, काँ भए दुई वटा दाबी ? मेरो त एउटै दाबी छ । मसँग प्रस्ट बहुमत छ । मैले पेश गरेका ‘डकुमेन्ट’ सबै ठिक छन । काँग्रेस, समाजवादी सहितको समर्थनमा मैले दाबी पेश गरेको छु । दाबी जतीवटा पेश गरिएपनि बहुमत पुगाउन सक्ने वा पुगाई सकेको ब्यक्तिले मुख्यमन्त्री नियुक्त हुनुपर्छ ।

कति जनाको समर्थन हो ? तपाईलाई ।
–२८ जनाको नी । काँग्रेसका १८, उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ जना र राप्रपाका १ जनाको समर्थन रहेको पत्र प्रदेश प्रमुख ज्युलाई आईतबार नै बुझाई सकेका छौं । सुदूरपश्चिमको सरकारका लागि २७ जना बहुमत होईन ? हो भने हामीले ३० जनाको समर्थन रहेको पत्र बुझाई सकेका छौं । प्रदेश प्रमुख ज्युले हिजै मुख्यमन्त्रीमा मलाई नियुक्त गर्नुपर्ने हो, तर उहाँले समय माग्नु भएको छ ।

नागरिक उन्मुक्तिका ७ जनाको समर्थन छ भन्नुभयो, तर त्यहाँ त दुई समुह छैनन ? 
त्यो कुरामा म धेरै प्रतिक्रिया दिन चाहन्न । नागरिक उन्मुक्ति एउटा पार्६ी हो । त्यस पार्टीको तर्फबाट सुदूरपश्चिममा ७ जना प्रदेश सभा सदस्य छन । मैले मुख्यमन्त्री नियुक्त भएपछि उनीहरु सातै जनाले मलाई विश्वासको मत दिनेछन, म यस कुरामा ढुक्क छु । बाँकी त्यसपछि भनौला ।

प्रदेश प्रमुखले के भन्नु भएको छ  ?
–प्रदेश प्रमुखले २ दिनको समय दिनुहोस, दुई÷दुई वटा दाबी एकै पार्टीबाट आएपछि आधिकारीक कुराहरु बुझ्न समय चाहिन्छ भन्नु भएको छ । मंगलबार उहाँले माग्नु भएको २ दिनको समय सकिन्छ । त्यसपछि म मुख्यमन्त्रीमा नियुक्त हुन्छु । 

तपाई बढो ढुक्क हुनुहुन्छ त ?
–अब चार वटा पार्टीको समर्थन रहेको छ । हामी ३० जना प्रदेश सभा सदस्य छौं । बहुमत भनेको २७ जना हो  भनेपछि म किन ढुक्क नहुने ? तर प्रदेश प्रमुख ज्युले मलाई आईतबार दाबी पेश गरेकै दिन मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हो, गर्नुभएन । मैले दिउसो २ बजे नै दाबी पेश गरेको हुँ । उहाँले कानून नबुझेको हो की वा कसैको डिजाईनमा चलिरहनु भएको हो की ? मलाई थाहा छैन । तर मेरो आग्रह के हो भने प्रदेश प्रमुखले कानून सम्मत कुरामा पछि हटनु हुन्न । उहाँको निश्पक्षता देखिनुपर्छ ।

श–शरिर (भौतिक रुपमा) उपस्थित हुनुपर्ने कुरा पनि आएको छ । के हो खासमा ?
होईन, नेपालको संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको आह्वान भएको हो । त्यो धारामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ । हामी पनि चार दलका ३० जना छौं । चार वटै दलका नेता र प्रमुख सचेतकहरुले हस्ताक्षर गरेका छन । बहुमत सदस्य छन भन्ने दाबी पेश गरेका छौं । बाँकी कुरा त विश्वासको मत दिने बेला थाहा भईहाल्छ नी ।
(कुराकानीका आधारमा)