Skip to main content

तीनदिन देखिको अविरल वर्षाले जयपृथ्वी राजमार्ग खुल्दै बन्द हुँदै

Submitted by editor on
ईबिगुल संवाददाता
जयपृथ्वी राजमार्ग

बझाङ : लगातारको वर्षापछि पहिरो खस्दा जयपृथ्वी राजमार्ग छिनतिनमा अवरुद्ध हुने र सुचारु हुने भइरहेको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द हुन थालेपछि जिल्लाभरीको आवागमन प्रभावित हुँदै आएको छ । 

चार दिनदेखि लगातार वर्षा हुँदा खोडपे–चैनपुर जयपृथ्वी राजमार्ग पाँच पटक अवरुद्ध भइसकेको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा– १ को जालेबगर, जयपृथ्वी नगरपालिका –७ तमैल तथा माल्नालाग्ने भीरमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुंगा खसिरहेका छन् । 

तमैलमा भने मेसिनले हटाउन नसक्ने खालका ठूला ढुंगा खसिरहेका हुँदा यातायात अवरुद्ध भइरहेको छ । वर्षासँगै आएको बाढीले बझाङ जिल्लाका अन्य शाखा सडकहरू पनि अवरुद्ध भएको स्थानीयले बताएका छन् । मष्टा, सुर्मा, खप्तडछान्ना, बुंगल, थलारालगायतका पालिकाका दर्जनौं सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको हो ।

ग्रामिण भेग सम्पर्क बिहीन 
निरन्तरको वर्षाले सोलार प्यानलमा घाम नलाग्दा बझाङका ग्रामिण भेग सम्पर्क बिहीन भएका छन् । बझाङमा प्रायः जसो टेलिफोन टावरहरु सोलार सिस्टमबाट चलिरहेकाले लामो समय घाम नलाग्दा टेलिफोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । 

बझाङका खप्तडछान्नाका तीनवटा, तल्कोट र मष्टाका दुइवटा, साइपालमा एक वटा, छबिसपाथिभेरामा दुइवटा,  दुर्गाथलीमा दुईवटा,  केदारस्युँमा दुई वटा,  वित्थडचिरमा दुईवटा,  थलारामा एउटा,  बुंगलमा दुइवटा,  सुर्मा एक वटा गरि, जयपृथ्वीको मनाना गरि १९ वटा टेलिफोन टावर सोलारको भरमा सञ्चालन भइरहेका छन ।

जयपृथ्वी नगरपालिकाको हेमन्तवाडा, सदरमुकाम चैनपुर, वडा नम्बर ६ को नौरामा, छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ तथा साविक कँडेलमा र थलारा गाउँपालिका ८ को देबस्थलीमा मात्रै विद्युतबाट नेपाल टेलिकमका टावर सञ्चालनमा रहेका छन् । 

निरन्तर पानी पर्न थालेपछि बझाङका धेरैजसो टावर निस्क्रिय हुँदा गाउँहरु सम्पर्क बिहीन हुँदा समस्या भएको छ । टावर नहुँदा अतिवश्यक पर्दा फोन गर्न र बाढी पहिरोका सूचना पाउन असहज भएको छ ।