Skip to main content

धनगढी उपमहानगरको सरकारी पुजा टोली पहिलो पटक बडिमालिका प्रस्थान

Submitted by editor on
उपमेयर राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती सहित नगरका कर्मचारी र नगरप्रहरी सहितको टोली धनगढीको बनदेबी मन्दिरबाट पुजा सामाग्री सहित बडिमालिका प्रस्थान गरेको हो ।
शिवराज भट्ट
बडिमालिकामा पुजाका लागि धनगढी

धनगढी : सुदूरपश्चिमको प्रमुख शक्तिपिठका रुपमा रहेको बडिमालिकामा पुजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

नगरबासीको सुखशान्तीको कामना गर्दै उपमेयर कन्दकला रानाको नेतृत्वमा पहिलो पटक उपमहानगरपालिकाको टोली आईतबार विहान बाजुरामा रहेको बडिमालिका प्रस्थान गरेको हो । 

उपमेयर राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती सहित नगरका कर्मचारी र नगरप्रहरी सहितको टोली धनगढीको बनदेबी मन्दिरबाट पुजा सामाग्री सहित बडिमालिका प्रस्थान गरेको हो ।

‘धनगढीबासीको सुखशान्ति र समृद्धीको कामना सहित पहिलो पटक सरकारी टोली बडिमालिका जान थालेको हो । अर्कोवर्ष देखि निरन्तर सरकारी टोली पुजा सामाग्री सहित बडिमालिका जानेछ’ उपमेयर कन्दकला रानाले भनिन । उनले नगरप्रमुख गोपाल हमालको प्रस्तावमा नगरपरिषदको बैठकले यस्तो निर्णय गरेको बताईन ।

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बाजुरा स्थित बडीमालिका माईको मन्दिरमा श्रावण २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा धनगढी उप‐महानगरपालिकाको सरकारी पूजा टोली प्रस्थान गरेको हो ।

नगर उप–प्रमुख रानाले ४५ जनाको समूहमा टोली बडीमालिकाका लागि प्रस्थान गरेको बताएकी छन् । धनगढी उपमहानगरपालिकाको टोलीले धनगढीको वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको हो । बनदेबी मन्दिरमा नगरप्रहरीको टोलीले सरकारी टोली र पुजासामाग्रीलाई सलामी सहित विदाई गरेको थियो ।

बडिमालिकामा यसअघि सुदूरपश्चिमको डोटी र बाजुराबाट मात्रै सरकारी टोली पुजासामाग्री (पटेरो) सहित बडिमालिका जाने गरिएकोमा यसपाली देखि धनगढी उपमहानगरपालिकाको पनि सरकारी पूजा सामाग्री सहित टोली जाने भएको हो । धनगढीबाट यो यात्रा कम्तीमा पनि ८ दिनको हुनेछ ।