Skip to main content

सुदूरपश्चिम प्रदेश सरकारको एकवर्ष : बजेट कार्यान्वयन र सुशासनमा अब्बल रहेको दाबी

Submitted by editor on
भौतिक पूर्वाधारतर्फ ३५५ किलोमिटर सडक निर्माण, १३,९४७ हेक्टर सिंचाइ पुनःस्थापना, १ लाखभन्दा बढी जनसंख्यामा खानेपानी विस्तार र २७ किमी तटबन्ध निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
ईबिगुल संवाददाता
 कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेको छ । एकवर्ष पूरा गरेको अवसरमा मंगलबार मुख्यमन्त्री कमल बहादुर शाहले पत्रकार सम्मेलनको आयोजना गर्दै एक वर्षभित्र सम्पन्न मुख्य ३७ उपलब्धिहरू सार्वजनिक गरेको छन । मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकार २०७९ साउन २० मा गठन भएको थियो ।

प्रदेश सरकारले एक वर्षको अवधिमा शासकीय, भौतिक, सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय क्षेत्रसम्म उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले प्रस्तुत गरेको विवरण अनुसार, सुदूरपश्चिम प्रदेश नेपालको पहिलो प्रदेश बनेको छ जसले विदेशी सरकारको निमन्त्रणामा औपचारिक कूटनीतिक भ्रमण सम्पन्न गरेको हो । मुख्यमन्त्री शाहको टोलीले भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली भ्रमण गरेका थिए ।

प्रदेश सरकारले आगामी मंसिर १–२ गतेका लागि ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’ आयोजना गर्ने घोषणा गर्दै त्यसका लागि विभिन्न कानुनी, नीतिगत र पूर्वाधार तयारी गरिरहेको जनाएको छ । एशियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा सम्मेलनको पूर्वतयारी सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

प्रदेशले साक्षरता दर ९५% पुगेपछि सुदूरपश्चिमलाई “साक्षर प्रदेश” घोषणा गरेको जनाएके छ । आर्थिक कार्यक्षमताको सन्दर्भमा प्रदेशले ७०.२२ प्रतिशत बजेट खर्च गर्न सफल भएको प्रदेश सरकारको दाबी छ । मुख्यमन्त्री शाहले अघिल्ला वर्षहरूमा भन्दा बजेट कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन । भौतिक पूर्वाधारतर्फ ३५५ किलोमिटर सडक निर्माण, १३,९४७ हेक्टर सिंचाइ पुनःस्थापना, १ लाखभन्दा बढी जनसंख्यामा खानेपानी विस्तार र २७ किमी तटबन्ध निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कृषि क्षेत्रमा १५१ व्यावसायिक कृषकलाई झण्डै १ करोड रुपैयाँ बराबरको अनुदान, १६ लाख पशुपंक्षीमा कृत्रिम गर्भाधान तथा उपचार र साना सिंचाइ योजनामार्फत थप ३७८ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याइएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । 

वन र पर्यटन क्षेत्रमा १२२ हेक्टरमा वृक्षारोपण, १९ सामुदायिक वन हस्तान्तरण, ३१ धार्मिक स्थल संरक्षण र ९ वटा झरना तथा ताल संरक्षण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा सामाजिक सुरक्षाको क्षेत्रमा एचपीभी खोपमार्फत १.४६ लाख किशोरीलाई सेवा प्रदान गरिएको छ भने ४८ जना मोतीबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको छ ।

प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउँदै योजनाहरूमा पारदर्शिता, उपभोक्ता समितिको नियन्त्रण हटाउने, साना योजना स्थानीय तहमा हस्तान्तरण गर्ने लगायतका चारबुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।