धनगढी : धनगढीमा आमाछोराले सँगै कक्षा १२ उत्तीर्ण गरेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की देवकी भट्ट पडाल र उनका छोरा जीवन पडालले यसपालीको परिक्षामा सँगै कक्षा १२ पास गरेका हुन ।
जीवनले विज्ञान संकायमा ३.४४ अथवा ‘ए’ जिपीए ल्याएर १२ पास गरेका हुन भने उनकी आमा देबकीले २.८५ अथवा ‘बी प्लस’ जिपिए ल्याएर १२ पास गरेका हुन । छोराले नीयमित रुपमा पढिरहेका भएपनि आमाले भने एक दशकको अन्तरालपछि कक्षा १२ को परिक्षा दिएकी हुन ।
देवकी धनगढी उपमहानरपालिका वडा नम्बर ४ मा रहेको राष्ट्रिय तुल्सीराम माविमा बालविकास शिक्षिका हुन । उनले शैक्षिक योग्यताका कारण प्रावि बाहेकका अरु कक्षामा पढाउन पाएकी थिएनन । ‘पढाउने अनुभव भएपनि डिग्री नभएपछि पढाउन नमिल्ने रहेछ, त्यसैले छोरासँगै कक्षा १२ को परिक्षा दिए’ उनले भनिन ।
उनले शिक्षा संकायमा कक्षा १२ पास गरेकी हुन । छोराले स्नातक तहमा आईटी ईन्जिनियरिङ पढने तयारी गरेको उनले बताईन । ‘छोराले आईटी पढछु भन्छ, तर मैले विएड पढने मनस्थिति बनाएको छु’ उनले भनिन । ‘घरकोको काम, विद्यालयमा बालविकासको अध्यापन सँगैप १२ को पढाई पनि गरे, सफलता पाईयो’ देबकीले भनिन ।